काठमाण्डौ / नेपाली कांग्रेसको भावी नेतृत्वका लागि दोस्रो चरणमा हुने तय भएको निर्वाचनको पूर्वसन्ध्यामा वरिष्ठ नेता रामचन्द्र पौडेलले आयोजना गरेको चियापान कार्यक्रममा सभापतिका उमेद्धार शेरबहादुर देउवा विरुद्ध नारावाजी भएको छ ।

चियापानमा उपस्थित देउवा इतर पक्षका नेता तथा कार्यकर्ताले देउवालाई बोलाएको भन्दै नारावाजी गरेका हुन् । आफ्नो समूहका नेतालाई पौडेलले खुलेर सहयोग नगर्दा दोस्रो चरणमा निर्वाचन हुने भएको भन्दै उनीहरूले आक्रोश समेत पोखेका थिए ।

चियापान आयोजना गरिएको ब्याङ्केटमा भेला भएका कार्यकर्ताहरूले सभापतिका उम्मेदवार शेखर कोइरालाको पक्षमा नाराबाजी गर्दै नेता पौडेललाई कोइरालालाई खुला रुपमा सहयोग गर्न दवाव समेत दिएका छन् ।

आफ्नै समूहका नेता तथा कार्यकर्ताको विरोध र प्रदर्शनका कारण बोल्नका लागि मञ्चमा पुगेका पौडेलले बोल्न समेत पाएनन्। कार्यकर्ताको विरोधका कारण कार्यक्रममा देउवालाई समेत बोल्न दिइएन भने सभापतिका अर्का उम्मेदवार शेखर कोइरालाले भने कार्यकर्तालाई सम्बोधन गर्दै आफूलाई विजयका लागि सहयोग गर्न आग्रह गरेका छन् ।