काठमाडौँ / नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि मतदान सुरु भएको छ । 

सोमबार बिहान ८ बजेदेखि सुरु हुने भनिए पनि तीन घण्टापछि मात्र भृकुटीमण्डप र राष्ट्रिय सभा गृहमा रहेका मतदान केन्द्रमा मतदान सुरु भएको हो ।

OM Sai Pathibhara Hospital

कांग्रेसका पुराना नेता कुलबहादुर गुरुङले पहिलो भोट खसालेसँगै मतदान प्रक्रिया सुरु भएको हो ।

साँझ ५ बजेसम्म मतदान गरिसक्ने कार्यतालिका रहेको केन्द्रीय निर्वाचन समितिका सदस्य तेजबहादुर रावलले जानकारी दिए । 

राष्ट्रिय सभागृहमा पार्टी केन्द्रीय कार्यसमिति, जनसम्पर्क समिति, भातृ र शुभेच्छुक संघसंस्था, कर्णाली प्रदेश र लुम्बिनी प्रदेशका मतदाताले मतदान गर्नेछन् ।

प्रदेश २ र गण्डकी प्रदेशका मतदाताले भृकुटीमण्डपको प्राङ्गणमा र प्रदेश १, बागमती र सुदूरपश्चिम प्रदेशका महाधिवेशन प्रतिनिधिका लागि भृकुटीमण्डपको प्रदर्शनी हलभित्र मतदान गर्ने व्यवस्था मिलाइएको छ ।

रावलका अनुसार निर्वाचनमा २९ प्रकारका मतपत्रको व्यवस्था गरिएको छ भने सबै मतपत्रका लागि छुट्टाछुट्टै मतपेटिकाको व्यवस्था गरिएको छ ।

कुल १३४ पदका लागि मनोनयन दर्ता भएकोमा प्रदेश २ खुला केन्द्रीय सदस्य पदमा आनन्दप्रसाद ढुङ्गाना र रमेश रिजाल निर्विरोध निर्वाचित भइसकेका छन् । 

अब १३२ पदका लागि मतदान हुनेछ । काँग्रेस केन्द्रीय सभापति एक सिटका लागि कल्याणकुमार गुरुङ, प्रकाशमान सिंह, विमलेन्द्र निधि, डा. शेखरप्रसाद कोइराला र शेरबहादुर देउवा उम्मेदवार छन् ।

मतदानका लागि ४ हजार ७ सय ४३ जना प्रतिनिधिको नामावली सार्वजनिक भएको छ ।