काठमाडौँ / संघीय संसद्को दुबै सदनको अधिवेशन मङ्गलबारबाट सुरु हुँदै छ ।  

गत मंसिर १६ गते राष्ट्रपति विद्यादेवी भण्डारीले मंसिर २८ मंगलबार दिउँसो २ बजे अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, नयाँबानेश्वरमा संघीय संसद्‌को दुवै सदनको अधिवेशन आह्वान गरेकी हुन् । 

OM Sai Pathibhara Hospital

प्रतिनिधिसभाको भोलिको बैठकमा अघिल्लो अधिवेशन अन्त्य भएपछि जारी भएको अध्यादेश पेस हुने कार्यसूची रहको संघीय संसद् सचिवालयका सहायक प्रवक्ता दशरथ धमलाले जानकारी दिए । 

यसैगरी भोलीको बैठकमा यसभन्दा अघिल्लो अधिवेशनमा सदनमा पेस भएका अध्यादेशहरु निर्णयार्थ पेस हुने र राष्ट्रपतिबाट प्राप्त अधिवेशन आह्वान सम्बन्धी पत्रको ब्यहोरा पढेर सुनाउने, बैठकको अध्यक्षता गर्ने, सदस्यहरूको मनोनयन गर्ने र शोक प्रस्ताव पारित गर्ने कार्यसूची रहेको छ ।

भोलि दुवै सदनको अधिवेशन सुरु हुने भएपछि सभापति अग्निप्रसाद सापकोटाले आज बैठक स्थल लगायतको निरीक्षण गर्ने भएका छन् । 

संसद्‌ भवनको स्काई हलमा सभामुखसहित संघीय संसद्‌आवद्ध सबैको कोभिड –१९ को एन्टिजेन परीक्षण गर्ने कार्यक्रम रहेको संसद्‌ सचिवालयले जनाएको छ ।

सचिवालयका अनुसार संसद्‌का सांसददेखि सुरक्षाकर्मीहरूसम्मको आज (सोमबार) दिउँसो एन्टिजेन परीक्षण गरिनेछ ।