काठमाडौं / नेपाली कांग्रेसको १४ औँ महाधिवेशनमा खुला तर्फबाट केन्द्रीय सदस्यमा उम्मेद्वारी दर्ता गराएका मीन विश्वकर्माले उम्मेदवारी फिर्ता लिएका छन् ।

आइतबार बिहान विज्ञप्ति जारी गर्दै नेता विश्वकर्माले आफू केन्द्रीय सदस्यमा उम्मेदवारी दर्ता गर्न इच्छुक नरहेको भन्दै उक्त पदबाट आफ्नो उम्मेदवारी फिर्ता लिएको घोषणा गरेका हुन् ।

पाँच जना दलित खुला केन्द्रीय सदस्यका लागि २७ जनाले उम्मेदवारी दिएका थिए ।

सहमहामन्त्री पदका आकांक्षी विश्वकर्मा सभापति शेरबहादुर देउवा निकट नेताको रुपमा चिनिन्छन् । तर देउवा समूहको प्यानलमा विश्वकर्मा नपरेपछि असन्तुष्ट देखिँदै आएका छन् ।

देउवा प्यानलको केन्द्रीय सदस्यको सूचीमा विश्वकर्माको पनि नाम आएपछि उनले विज्ञप्ति जारी गर्दै नाम फिर्ता लिएका हुन् । जस अनुसार उनले आफ्नो सहमति बिना नै अरु कसैले उम्मेदवारी दर्ता गरिदिएको आशय व्यक्त गरेका छन् ।

विश्वकर्माले भनेका छन्, –‘केन्द्रीय सदस्यमा मेरो पनि नाम दर्ता भएको देखिएकोमा उक्त पदमा उम्मेदवारी दिने मेरो कुनै मनसाय नरहेकोले उक्त पदको उम्मेदवारी फिर्ता लिएको अनुरोध साथ मेरो नाम उक्त सूचीबाट हटाइदिनुहुन यो लिखित निवेदन पेश गरेको छु ।’

कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत शनिबार उम्मेदवारी दर्ता भएको थियो । उम्मेदवारहरूको मनोनयन फिर्ता लिने समय आज बिहान ११ बजेसम्म छ ।

आजै सवा १२ बजे अन्तिम नामावली प्रकाशन गर्ने र भोलि बिहान आठ बजेदेखि मतदान गर्ने निर्वाचन तालिका छ।