झापा / नेकपा (माओवादी केन्द्र)को प्रदेश अधिवेशन आज (शनिबार) हुँदैछ ।  

सात भौगोलिक र तीन गैरभौगोलिक गरी १० प्रदेशमा हुने अधिवेशनको आज दिउँसो एक बजे पार्टी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले भर्चुअल माध्यमबाट उद्घाटन गर्ने कार्यक्रम रहेको छ । 

OM Sai Pathibhara Hospital

प्रदेश १ को विराटचोक, प्रदेश २ को जनकपुर, बागमतीको काठमाडौँ, गण्डकीको पोखरा, लुम्बिनीको भालुवाङ, कर्णालीको सुर्खेत र सुदूर पश्चिम प्रदेशको धनगढीमा अधिवेशन हुने छ । 

माओवादीले सात भौगोलिकसहित उपत्यका विशेष, सम्पर्क समन्वय र प्रवास प्रदेश समिति गठन गरेको छ। विशेष र सम्पर्क समितिले अनुकूलमा सम्मेलन गर्ने भएका छन् । 

तर प्रवास समितिको सम्मेलन भने आज नहुने माओवादी पार्टी कार्यालयका मुख्यसचिव श्रीराम ढकालले जानकारी दिए । 

सम्मेलनबाट माओवादी केन्द्रले नौ पदाधिकारीसहितको समिति चयन गर्नेछ। प्रदेश समिति एक अध्यक्ष, तीन उपाध्यक्ष, एक सचिव, तीन सहसचिव र कोषाध्यक्ष एक गरी नौ सदस्यीय पदाधिकारी हुनेछन्।

प्रदेश नं १ मा २५९, २ नम्बर प्रदेशमा २७१, वाग्मतीमा २७५, गण्डकीमा २२९, लुम्बिनीमा २५३, कर्णालीमा २११ र सुदूरपश्चिम प्रदेशमा २२३ सदस्यीय समिति हुनेछ । विशेष, सम्पर्क र प्रवास समिति न्यूनतम् १७५ सदस्यीय हुनेछन् । 

माओवादीको राष्ट्रिय सम्मेलन आगामी पुस ११ देखि १३ गतेसम्म राजधानीमा हुँदैछ ।