काठमाडौँ  / नेकपा माओवादी केन्द्रको प्रदेश अधिवेशनमा अध्यक्ष पदकालागि तीन जनाले उम्मेद्वारी दिएका छन् । 

माओवादी केन्द्र प्रदेश १ को अध्यक्ष पदमा सुरश कुमार राई, प्रदेश १ का आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बो (मौसम) र हेमराज भण्डारीले उम्मेद्वारी दिएका हुन् । 

OM Sai Pathibhara Hospital

प्रदेश अध्यक्ष समेत रहेका राईले पटक/पटक पार्टी फुट्दा समेत माओवादी अध्यक्ष पुष्पकमल दाहाललाई साथ दिएका थिए । आफूले अहिलेनै उम्मेदवारी घोषणा नगरेपनि बहुमत प्रतिनिधिहरूले उठ्न आग्रह गरेको राईले बताए ।

उदयपुरबाट संघीय सांसद जितेका राईको जनाधार समेत राम्रो रहेकाले उनलाई अध्यक्ष बनाउने प्रचण्डको तयारी रहेको माओवादीकै नेताहरू बताउँछन् ।

त्यस्तै अध्यक्ष पदमा उम्मेद्वारी दिएका युवा नेता आङ्बो नेकपा माओवादी केन्द्र प्रदेश १ संसदीय दलका नेता समेत हुन् । प्रदेश १ को राजनीतिक खेलाडीका रूपमा समेत उनलाई चिन्ने गरिन्छ ।

उनलाई गठबन्धन तथा प्रमुख प्रतिपक्षी दलका सांसदहरूले चाणक्य भनेर समेत चिन्ने गरेका छन् । संसद्‌भित्र अध्ययनशील नेताका रूपमा समेत उनलाई चिन्ने गरिएको छ । आङ्बो माओवादी केन्द्रको केन्द्रीय सदस्य तथा पाँचथरका इन्चार्ज हुन् । 

वर्तामान सचिव समेत रहेका हेमराज भण्डारीले पनि अध्यक्षको कार्ड फालिरहेका छन् । धनकुटाका भण्डारी संविधान सभा सदस्य समेत हुन् । 

वैचारिक बहसमा खरो रूपमा उत्रिन सक्ने भण्डारीको कार्यकर्तामा पकड भने कमजोर रहेको माओवादीकै नेता बताउँछन् । 

मंसिर २५ गते मोरङको विराटचोकमा हुने प्रदेश १ को अधिवेशनमा एक हजार ५० प्रतिनिधि सहभागी हुने बताइएको छ । अधिवेशनको उद्घाटन प्रचण्डले भर्चुअल माध्यमबाट गर्ने एक नेताले बताए ।