विराटनगर / नेपाली कांग्रेसको १४ औँ महाधिवेशनमा प्रदेश १ बाट मात्रै केन्द्रीय नेतृत्वका लागि  ५३ जनाले आफ्नो दाबेदारी प्रस्तुत गरेका छन् । 

सभापति, उपसभापति, महामन्त्री, सह–महामन्त्री र केन्द्रीय सदस्य पदमा गरी प्रदेश १ बाट हालसम्म ५३ जनाले आफ्नो दाबेदारी प्रस्तुत गरेका हुन् । 

OM Sai Pathibhara Hospital

कांग्रेसको विधान अनुसार १४औं महाधिवेशनबाट सभापति, २ उपसभापति, २ महामन्त्री र ८ सह–महामन्त्री गरी १३ जना पदाधिकारी प्रत्यक्ष निर्वाचित हुँदैछन् ।

प्रदेश १ बाट केन्द्रिय सभापतिमा डा. शेखर कोइराला, कृष्णप्रसाद सिटौला, विजय गच्छदार, डा. नारायण खड्का र महेश आचार्यले उम्मेद्वारी दिने भएका छन् ।  

महामन्त्रीमा पनि प्रदेश १ बाट दुई दाबेदार छन् । संस्थापनबाट वर्तमान केन्द्रीय समितिका प्रवक्ता विश्वप्रकाश शर्मा र इतर पक्षबाट सरकारका रक्षामन्त्री एवं केन्द्रीय सदस्य डा. मिनेन्द्र रिजाल महामन्त्रीका आकांक्षी छन् । 

त्यस्तै प्रदेश १ बाट सह–महामन्त्रीमा दाबेदारी प्रस्तुत गर्नेमा संस्थापन पक्षकी डा. डिला संग्रौला, मीन विश्वकर्मा, भीष्मराज आङ्देम्बे, सीता गुरुङ, र ज्ञानेन्द्र कार्की रहेका छन् । 

प्रदेश १ का प्रायः सबै जिल्लाबाट केन्द्रीय सदस्यमा उम्मेद्वारी घोषणा गरेका छन् । सबै भन्दा बढी झापा, मोरङ र सुनसरीबाट केन्द्रीय सदस्य पदमा आकांक्षी देखिएका हुन् ।  

मोरङबाट विराटनगर महानगरपालिकाका मेयर भीम पराजुली, केन्द्रीय समितिका सदस्य अमृत अर्याल, हसन अन्सारी, जनार्दन शर्मा, शोभा पालुङ्वा, आन्तरिक मामिला तथा कानुनमन्त्री केदार कार्की, विराटनगर महानगरकी उपमेयर इन्दिरा कार्की, पुनम सिंह र विराटनगरका उद्योगी पवन कुमार सारडा केन्द्रीय सदस्यका लागि आकांक्षी छन् । 

केन्द्रीय सदस्य पदमा सुनसरीबाट सीताराम मेहता, संसदीय दलका नेता राजीव कोइराला, राजीव ढुंगाना र विनोद राई, ओखलढुङ्गाबाट रामहरि खतिवडा र बाला अधिकारी, उदयपुरबाट प्रमिला राई, लक्ष्मी परियार र नारायण बहादुर कार्की, खोटाङबाट सुवास कुमार पोखरेल, रविप्रकाश राई र सरस्वती बजिमय आकांक्षी देखिएका हुन् । 

झापाबाट सरिता प्रसाईँ, केशव बुढाथोकी, महेन्द्र लिम्बू र भगिरथ पोद्दार, धनकुटाबाट हरि कुमार राई, मनोहर श्रेष्ठ र आनन्द सन्तोषी राई, तेह्रथुमबाट तुलसी सुब्बा, रामकृष्ण लकान्द्री, भोजपुरबाट रोहित विश्वकर्मा र उमेशजंग रायमाझी, पाँचथरबाट नरेन्द्र केरुङ, शान्ता रिजाल र विमल धमला, इलामबाट केशव थापा, हिमाल कर्मचार्य र सुजता परियार, सोलुखुम्बुबाट बलबहादुर केसी र आङ्गेलु शेर्पा र संखुवासभाबाट दीपक खड्का रहेका छन् ।