काठमाडौँ / नेपाली कांग्रेसको १४ औँ महाधिवेशन आज शुक्रबारबाट काठमाडौँको भृकुटीमण्डपमा सुरु हुँदै छ ।

दिउँसो १ बजे प्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवाले महाधिवेशनको उद्घाटन गर्नेछन् । 

OM Sai Pathibhara Hospital

महाधिवेशनले आगामी ५ वर्षका लागि नयाँ नेतृत्वसहित १ सय ३४ सदस्यीय कार्यसमिति चयन गर्ने छ । 

 ‘उत्साह, एकता, रूपान्तरण : सफल बनाऔँ नेपाली कांग्रेसको १४ औं महाधिवेशन’ मूल नाराका साथ सुरु हुने महाधिवेशनमा करिब ४ हजार ६ सय प्रतिनिधि सहभागी हुँदै छन् ।

महाधिवेशनमा सहभागि हुने ४ हजार ७ सय मध्ये आधिकांश महाधिवेशन प्रतिनिधि काठमाडौं आइपुगेको कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।

महाधिवेशन प्रतिनिधिका लागि सुन्धारा, ठमेल र गौशालाका होटलमा आवासको व्यवस्था गरिएको छ । शर्माका अनुसार महाधिवेशनमा एमाले, माओवादी, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादीलगायत दलका प्रमुख तथा प्रतिनिधिले सम्बोधन गर्नेछन् । 

विदेशी दलका पाहुनालाई पनि आमन्त्रण गरिएको छ । कंग्रेस आईका महासचिव मुकुल वस्निक, भारतीय जनता पार्टीका वरिष्ठ नेता हरिश द्विवेदी र भारतका पूर्वमन्त्री हरिबर्द्धन महाधिवेशनमा आउने कांग्रेसले जनाएको छ ।

कांग्रेसको १४ औं महाधिवेशनबाट समावेशी हिसाबले विभिन्न ८ वटा क्लस्टरबाट केन्द्रीय कार्यसमितिमा पदाधिकारीसहित सदस्य निर्वाचित हुनेछन् । 

कार्यसमितिमा एक जना सहमहामन्त्रीसहित विभिन्न क्लस्टर र भौगोलिक क्षेत्रबाट ४० जना महिला केन्द्रीय समितिमा पुग्नेछन् । 

त्यसैगरी एक/एक जना सहमहामन्त्रीसहित दलित ९, आदिवासी/जनजाति १५, खसआर्य १३, मधेसी ९, थारू ४, मुस्लिम ३ र पिछडिएको क्षेत्रबाट एक जना केन्द्रीय सदस्य निर्वाचित हुनेछन् । 

सबै क्लस्टरमा महिला कोटा आरक्षित छ । खुलाबाट ३५ सहित अल्पसंख्यक र अपांगता भएकाबाट एक/एक जना केन्द्रीय सदस्य निर्वाचित हुनेछन् ।

सभापतिसहित दुई/दुई जना उपसभापति र महामन्त्री भने खुला प्रतिस्पर्धाबाट चुनिनेछन् ।

समितिले आइतबार बिहान ११ बजे उम्मेदवारको मनोनयन फिर्ता लिने र दिउँसो १२ः१५ बजे अन्तिम नामावली सार्वजनिक गर्ने कार्यतालिका तोकेको छ । 

मतदान सोमबार बिहान ८ बजेदेखि हुनेछ । निर्वाचन समितिले मतदानका लागि भृकुटीमण्डप, नेपाल पुलिस क्लब र राष्ट्रिय सभागृहमा मतदान केन्द्र तोकेको छ ।