सत्तारुढ दल नेपाली कांग्रेसको महाधिवेशनमा अपराधको दुनियाँमा स्थापित बनेका पनि महाधिवेशन प्रतिनिधि बनेर सहभागि हुने भएका छन् । प्रदेश एकमा गुण्डागर्दीमा नाम कमाएका सिजन गुरुङ , सुर्य राई र हेमकर्ण पौडेल सहित देशकै चर्चित गुण्डा नाइके गणेश लामा र राजु गोर्खाली सहित दुई दर्जन भन्दा वढी गुण्डा नाइके महाधिवेशन प्रतिनिधि बनेर महाधिवेशनमा सहभागि हुने भएका हुन् ।

कांग्रेस मात्रै हैन नेकपा एमाले , माओवादी केन्द्र , नेकपा एकीकृत समाजवादी पार्टी , जनता समाजवादी पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी सहितका पार्टीले गुण्डागर्दीमा संलग्नलाई संरक्षण गरेर पार्टीका लागि उपयोग गर्ने गरेकाले गुण्डागर्दीमा संलग्नले राजनैतिक दललाई छहारीका रुपमा प्रयोग गर्ने गरेका छन् ।

कुनै समय देशकै ठूला गुण्डा नाइके भनेर चिनिएका दीपक मनाङे त यतिबेला एमालेको सहयोगमा मनाङबाट निर्वाचन नै जितेर गण्डकी प्रदेशको मन्त्री नै बनेका छन् । एमाले संरक्षित अर्का गुण्डा नाइके पर्शुराम बस्नेत सरकारी उच्च तहमा नियुक्त नै भएका छन् । बस्नेत यतिबेला प्रदेश एकको खेलकुद विकास समितिको सदस्य सचिव नै बनेका छन् ।

विराटनगर सहित पूर्वी नेपालमा गुण्डागर्दीमा चिनिएका रोहित कोइरालालाई पनि एमालेले विराटनगर महानगरपालिकाको पार्टी सचिव नै बनाएको छ । एमालेले केही दिन अघि भएको नगरअधिवेशनबाट कोइरालालाई सचिव बनाएको हो ।

त्यसैगरी कांग्रेस संरक्षित अर्का गुण्डा नाइके काँडे उपनामले चिनिने सूर्य राई केही दिन अघि भएको प्रदेश अधिवेशनबाट निर्वाचित नै भएर प्रदेश सदस्य बनेका छन् । प्रदेश एकमा नै गुण्डागर्दीबाट चिनिएका सिजन गुरुङ पनि प्रदेश सदस्य बनेका छन् ।

पूर्वकै ठुलो उपमहानगरपालिका इटहरीमा त नेपाली कांग्रेसको नगरअधिवेशनका क्रममा नेतृत्वका लागि गुण्डा भनेर चिनिएका विकास केसी र हेमकर्ण पौडेल बिच प्रतिष्पर्धा नै भएको थियो । नेतृत्वका लागि भएको निर्वाचनमा गुण्डागर्दी र आपराधिक पृष्ठभूमिबाट राजनीतिमा आएका उनीहरु मध्ये पौडेल सभापतिमा निर्वाचित बनेका थिए ।

कुनै समय पूर्वकै नामी गुण्डाका रुपमा चिनिएका विराटनगरका उमेश यादव , आजम , तनविर सहितका गुण्डा पनि यतिबेला राजनीतिमा नै सकृय छन् । त्यसैगरी सुनसरीमा गुण्डागर्दीबाट चिनिएका सन्तोष बिक , दिनेश राई , प्रविण राई , दिवस राई र सन्तोष तामाङ पनि राजनीतिक दलमा आएर राजनीति गरिरहेका छन् ।

दक्षिण भारतीय चलचित्रको झल्को दिने गरी अपराधको दुनियाँमा चिनिएका लाई राजनीतिक दलले आफ्नो पार्टीमा ल्याएर नेता बनाउनु नेपाल अनि नेपालीका लागि नयाँ भने हैन ।