बिर्तामोड / सरोकारवाला सरकारी निकायको बेवास्ताको फाइदा उठाउँदै ठगी गर्दै आएका निजी विद्यालयले कक्षा १२ को अध्ययन पूरा गरेर उच्च शिक्षाका लागि जाने तयारी रहेको विद्यार्थीलाई पनि बिदा दिने समयमा ठगी गर्न थालेको सार्वजनिक भएको छ ।

झापाको बिर्तामोड स्थित कञ्चनजंगा अंग्रेजी माध्यमिक विद्यालयले कक्षा १२ को अध्ययन सकेर जाने विद्यार्थीसँग राष्ट्रिय परीक्षा बोर्डले तोकेको भन्दा वढी शुल्क लिने गरेको सार्वजनिक भएको हो ।

OM Sai Pathibhara Hospital

विगतमा बोर्डले दिने गरेको ट्रान्सक्रिप्ट विद्यार्थीको हितका लागि भन्दै शुल्क तोकेर विद्यालयबाटै दिने व्यवस्था गरेको भएपनि कञ्चनजङ्गाले बढि शुल्क असुल्न थालेपछि यो विषय सार्वजनिक भएको हो ।

विद्यार्थीसँग सो विद्यालयले गरिरहेको लुटका विषयमा भद्रपुरका एक विद्यार्थीले राष्ट्रिय परीक्षा बोर्डमा नै लिखित रुपमा उजुरी दिएका छन् ।

उनले बोर्डलाई दिएको उजुरी मंगलबार नै शिक्षा सम्वद्ध सामाग्री समेट्ने सामाजिक सञ्जाल फेसबुकमा रहेको शिक्षा पेजबाट सार्वजनिक भएपछि कञ्चनजङ्गाको ठगीधन्दा सार्वजनिक भएको हो । सार्वजनिक भएको उजुरीमा विद्यालयले ११ सय शुल्क लिने ठाउँमा २ हजार जबरजस्ती असुल गर्न थालेको उल्लेख छ ।

१२ कक्षाको परीक्षाफल प्रकाशित भएपछि गत मंसिर १७ गते राष्ट्रिय परीक्षा बोर्डले सूचना जारी गर्दै सर्टिफिकेटका लागि ११ सय रुपैयाँ लाग्ने जानकारी गराएको थियो । तर विद्यालयले असुलिरहेको शुल्क वापत बिल तथा रसिद समेत नदिएको सार्वजनिक भएको उजुरीमा उल्लेख छ ।

उजुरीमा उजुरीकर्ताले विद्यालयले नियम विपरीत असुलेको पैसा फिर्ता गराउन र सो विद्यालयमाथि कारवाही गर्न समेत माग गरेका छन् ।

तर, सो विद्यालयका प्रधानाध्यापक गुरुभक्त न्यौपानेले भने विद्यार्थीलाई ठगी गरेको अस्वीकार गरेका छन् । न्यौपानेले ट्रान्सक्रिप्ट, प्रोभिजनल, माइग्रेसन र क्यारेक्टर सर्टिफिकेटको गरेर दुई हजार रुपैयाँ लिएको बताएका छन् । उनले सर्टिफिकेटको ५०० लिएर बाँकी रहेको ४०० रुपैयाँ ट्रान्सक्रिप्ट लिन जानेलाई दिन लिइएको दावी गरे ।

कञ्चनजङ्गाको असुली सार्वजनिक भएसँगै उजुरी सार्वजनिक भएको पेजमा झापा , मोरङ र सुनसरीका दर्जनौँ विद्यालयले नियम विपरीत निजी विद्यालयले शुल्क लिने गरेको विद्यार्थीहरूले गुनासो गरेका छन् ।

बोर्डको विराटनगर कार्यालय जान आउन भन्दै सवारी भाडाका नाममा एक जना विध्यार्थीबाटै भाडा बराबरको पैसा लिएर ठगी गर्ने गरेको विद्यार्थीले सामाजिक संजालबाट जानकारी गराएका छन् ।