काठमाडौँ  / नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल समूहको बैठक आज पनि बस्दै छ  

मंगलबार बसेको बैठकले सभापति चयन गर्न नसकेपछि बुधबार फेरी सभापतिको साझा उम्मेद्वार तय गर्न पौडेल समूहको बैठक बस्न लागेको हो । 

OM Sai Pathibhara Hospital

बैठकमा जिल्ला सभापति, पूर्व जिल्ला सभापति, सात वटै प्रदेशका अध्यक्षका उम्मेद्वार र क्षेत्रीय सभापतिहरूसँग सभापतिका उम्मेदवारबारे सुझाव लिने कार्यक्रम तय भएको बताइएको छ । 

उनीहरूको सुझाव अनुसार नै सभापतिको उम्मेद्वार तय गर्ने बताइएको छ । पौडेल समूहमा सभापतिका लागि पौडेलसहित पूर्वमहामन्त्री प्रकाशमान सिंह र केन्द्रीय सदस्य डा. शेखर कोइरालाको दाबी छ । 

महामन्त्री डा. शशाङ्क कोइरालाले सहमतिका लागि आफू सभापतिको दौडबाट बाहिरिएको घोषणा गरिसकेका छन् ।

नेता पौडेलले पनि सहमतिको बाधक नबन्ने बताएका छन् तर सभापतिका आकांक्षी सिंह र कोइरालाबीच समझदारी नभए आफैं अगाडि सर्ने पौडेलको रणनीति छ ।

कांग्रेस महाधिवेशन मंसिर २४ देखि २७ गते सम्म काठमाडौंमा हुँदैछ । शुक्रबार महाधिवेशन उद्घाटन हुनेछ भने शनिबार उम्मेदवार मनोनयन दर्ताको समय तोकिएको छ ।

मंसिर २७ गते अर्थात् सोमबार बिहानैदेखि मतदान प्रक्रिया सुरु हुने निर्वाचन कार्यतालिकामा उल्लेख छ ।