काठमाण्डौ / राष्ट्रिय प्रजातन्त्र पार्टीमा तिन दशक देखि कायम आफ्नो विरासत गुमाएका पूर्व पार्टी अध्यक्ष कमल थापाले राजसंस्था र पूर्वराजाका विरुद्ध खोलेको फायरलाई निरन्तरता दिएका छन् ।

पार्टीको काठमाण्डौमा भएको महाधिवेशनमा अर्का नेता राजेन्द्र लिङदेनसँग पराजित बनेका थापाले पराजय भए लगत्तै सामाजिक सञ्जाल ट्विटर मार्फत पूर्वराजा र राजसंस्था विरुद्ध फायर खोलेका थिए । पराजयको दोष पूर्वराजा र उनको परिवारलाई दोष लगाउँदै उनले भविष्यमा राजसंस्था बोकेर नहिँड्ने बताएका थिए ।

पराजय पछि विछिप्त बनेका थापाले पराजयको दोष पूर्वराजपरिवार माथि लगाएपछि पूर्व युवराज्ञी हिमानी शाहले त्यसको प्रतिपद गरेकी थिइन । उनले समाजिक सञ्जाल ट्विटर मार्फत नै कमल थापालाई अवसरवादीधोखेबाज भएको आरोप लगाउँदै अध्यक्षमा विजयी भएका लिङदेनलाई बधाई दिएकी थिइन्

गणतन्त्र स्थापनापछि दलहरूमा निराशा बढ्दा राजतन्त्र समर्थक बढेको अवस्थामा पनि थापाले सहयोग नगरेको भन्दै पूर्वराजपरिवार निकटले थापालाई हराउन महाधिवेशनमा सकृयता देखाएका थिए ।

आफ्नो पराजयलाई सहज रुपमा स्वीकार गर्न नसकेर विछिप्त बनेका थापाले मंगलबार बिज्ञप्ति नै जारी गरेर पूर्वराजा र निर्मल निवासले आफूलाई हराउन भूमिका खेलेको आफूसँग प्रमाण रहेको दावी गरेका छन् ।  

जारी विज्ञप्तिमा उनले राप्रपालाई राजाको भजनमण्डली हुन नदिने बताउँदै राजसंस्थाको एजेन्डा राप्रपाले त्याग्ने संकेत गरेका छन् । उनले राजसंस्था स्थापित हुँदा अन्य पार्टी र राजनीतिमा पनि राजाको हस्तक्षेप हुने चेतावनी दिंदै सजग बन्न आग्रह गरेका छन् ।

उनले राजसंस्था स्थापित भए फेरि पनि विगतमा जसरी प्रजातन्त्र र प्रजातान्त्रिक संस्थामा हस्तक्षेप हुन सक्ने खतरा रहेको समेत विज्ञप्तिमा उल्लेख गरेका छन् ।

पराजय पछि पार्टी फुटाएर नयाँ पार्टी बनाउने अनुमान गरिएपनि उनले राप्रपामा नै रहेर राजनीति अघि बढाउने बताएका छन् ।

पार्टीको नेतृत्वमा पराजित भएपनि थापाको समुहको पदाधिकारी र केन्द्रिय समितिमा बहुमत रहेकाले अव थापाले पार्टीले अंगीकार गर्दै आएको राजसंस्था र हिन्दु राज्यको एजेन्डा त्याग्ने सम्भावना वढेको छ । धर्म र राजसंस्थाको एजेन्डामा कट्टरपन्थी मानिएका लिङदेन र राजसंस्था विरुद्ध फायर खोलेर फरक बाटो हिड्ने संकेत दिएका थापाका कारण पार्टी विभाजन निश्चित जस्तै देखिएको छ ।

पंचायतकाल देखि नै पूर्वराजपरिवार निकट रहेका थापा राजाको शासन काल र प्रजातान्त्रिक कालमा समेत पटक पटक सत्तामा पुगेका थिए । राजसंस्थाका भक्त भनेर चिनिएका थापाले पूर्वराजाले गद्धी त्याग गरेपछि सहयोग गर्न नसकेको भन्दै पूर्वराजा निकट रुष्ट रहेका थिए । उनीहरुले हिन्दु राष्ट्र र राजसंस्था फर्काउनका लागि राजपरिवारसँग आन्दोलन गर्न भन्दै करिव ४० करोड रुपैंया लिएर थापाले आन्दोलन नगरी गणतान्त्रिक सरकारमा सहभागि बनेको आरोप लगाउने गरेका थिए ।


OM Sai Pathibhara Hospital

विज्ञप्तिको पूर्ण पाठ

राष्ट्रिय प्रजातन्त्र पार्टीको एकता महाधिवेशन भव्यताका सथा सम्पन्न भएको छ । महाधिवेशन सफल तुल्याउन सहयोग गर्नुहुने सबैमा हार्दिक आभार व्यक्त गर्दछु ।

महाधिवेशनबाट निर्वाचित अध्यक्ष राजेन्द्र लिंगदेन लगायत सम्पूर्ण पदाधिकारी र सदस्यहरूलाई हार्दिक वधाई तथा सफल कार्यकालको निम्ति शुभकामना व्यक्त गर्दछु ।

महाधिवेशनले पार्टी एकताको पक्षमा सशक्त मार्गनिर्देशन गरेको छ । विगतमा पटकपटक विभाजनको पिडा भोगेको हुंदा भविष्यमा पार्टी कहिल्यै फुटनु हुंदैन भन्ने महाधिवेशनको स्पष्ट सन्देश र संकल्प रहेको छ । अध्यक्ष पदमा पराजयका बाबजुद पार्टी एकताको पक्षमा मेरो निरन्तर सकारात्मक सहयोग रहने छ ।

केन्द्रीय नेतृत्वको निर्वाचनमा निर्मल निवास र पूर्वराजा ज्ञानेन्द्रको नांगो हस्तक्षेपको भने म घोर भत्सर्ना र निन्दा गर्दछु । फेरि यो पहिलो घटना होइन । २०७४ सालमा पार्टी फुटाउन र विगत केही समय यता तथाकथित भजनमण्डली खडा गरेर पार्टी नेतृत्वको चरित्रहत्या गर्ने र राप्रपाका वारेमा भ्रम सिर्जना गर्ने गराउने कार्य निर्मल निवासबाट बारम्बार हुँदै आएको सर्वविदित छ ।

मेरो यो अभिव्यक्तिलाई चुनावमा हार पछिको आक्रोशको रूपमा नबुझि दिन सबैमा विनम्र आग्रह गर्दछु । एउटा खेलाडी भएको नाताले हार वा जीतले मेरो लागि कुनै अर्थ राख्दैन । हारलाई पनि सहर्ष स्विकार गरेर फेरि अर्को प्रतिस्पर्धाको निम्ति तयार रहने संस्कार मेरो रगतमा रहेको छ ।

तर, पार्टी भित्रको आन्तरिक प्रतिस्पर्धामा निर्मल निवासको अवांछित र अमर्यादित हस्तक्षेपले राजसंस्था सम्बन्धि मेरो र राप्रपाको आधारभूत मान्यता माथी नै गंभीर आघात पुगेको छ ।

नेपालको भूराजनीतिक अवस्था तथा धार्मिक, सामाजिक र सांस्कृतिक परिवेशमा राष्ट्रियता र एकताको प्रतिकको रूपमा राजनीति भन्दा माथी उठेको साझा संस्थाको रूपमा राजसंस्था हुनु उपयुक्त हुन्छ भन्ने हाम्रो मान्यता हो र रहि रहने छ ।

राप्रपाले परिकल्पना गरेको राजसंस्था एउटा आदर्श अभिभावकको रूपमा रहने सम्मानित संस्था हो । चुनावी राजनीति भन्दा माथी उठेको सम्पूर्ण नेपालीहरूको साझा र तटस्थ संस्थाको रूपमा हामीले राजसंस्थाको वकालत गरेका हौं ।

अहिले शतप्रतिशत राजावादीहरू भएको पार्टीमा त राजाको ठाडो र फोहरी हस्तक्षेप (यस सम्वन्धी यथेष्ट प्रमाण हामीसँग सुरक्षित छ) हुन्छ भने भोलि राजसंस्था स्थापित हुँदा अन्य पार्टी र राजनीतिमा राजाको हस्तक्षेप हुँदैन भनेर भन्ने हाम्रो नैतिक धरातल समाप्त भएको छ । विगतमा झैं राजाबाट प्रजातन्त्र र प्रजातान्त्रिक संस्थामा हस्तक्षेप हुँदैन भनेर अब हामीले कुन मुखले भन्ने ?

अत्यन्त प्रतिकुल अवस्था पनि राजसंस्थाको एजेण्डा बोकेर हिंडेको म र राप्रपालाई अहिले परेको पिर यहि हो । म नैतिक र धर्मसंकटमा परेको छु ।

यसैगरी देशमा राजनीतिक, आर्थिक र सामाजिक रूपान्तरण गर्न सक्ने शक्ति वा राजनीतिक दलको रूपमा होइन, राप्रपालाई ‘भजन मण्डली’ बनाउने गलत नियत राखेर मलाई राजनीतिक रूपमा समाप्त पार्न खोजिएको तथ्य स्पष्ट छ । राप्रपालाई ‘भजन मण्डली’ बनाउने निर्मल निवासको योजना हामी कहिल्यै सफल हुन दिने छैनौं ।

राजसंस्थाका वारेमा र पार्टीलाई रिमोट कन्ट्रोलबाट चलाउन चाहने निर्मल निवासको योजनाका वारेमा अब राप्रपा भित्र बहस शुरू हुनेछ ।