काठमाडौँ / चार दिन पछि सुरु हुने सत्तारुढ प्रमुख दल नेपाली कांग्रेसको १४ औं केन्द्रीय महाधिवेशन मङ्गलबारबाट काठमाडौंमा औपचारिक रुपमा शुरु भएको छ ।

पार्टीका प्रवक्ता एवं महामन्त्री पदका उमेद्धार समेत रहेका नेता विश्वप्रकाश शर्माले महाधिवेशन हुने जिल्ला काठमाडौंका पार्टीका सचिव गोविन्द पुडासैनीलाई झण्डा हस्तान्तरण गरेर महाधिवेशनको औपचारिक रुपमा शुभारम्भ गरेका हुन् ।

शर्माले सचिव पुडासैनीलाई पार्टीको चार तारे झन्डा र रूख अकित ब्यानर हस्तान्तरण गर्दै  महाधिवेशन शुभारम्भ भएको घोषणा गरेका हुन् । कांग्रेसको महाधिवेशन आगामी मंसिर २४ गतेदेखि सुरु हुने कार्यक्रम रहेको छ ।

महाधिवेशनमा आएका प्रतिनिधि बस्नका लागि तीन ठाउँमा होटल बुकिङ गरिएको छ । सुन्धारा, ठमेल र गौशालाका होटल प्रतिनिधिका लागि बुक गरिएको महाधिवेशन आयोजक समितिले जनाएको छ ।

हालसम्म तीन हजार ८०० प्रतिनिधिका लागि ८६ होटल बुक गरिएको आवास तथा भोजन उप–समितिका संयोजक एवं कांग्रेस केन्द्रीय सदस्य सुरेन्द्र पाण्डेले जानकारी गराएका छन् । महाधिवेशनमा नेपाल तथा विदेशबाट आएका करिव चार हजार ७०० प्रतिनिधि सहभागी हुने बताईएको छ ।

महाधिवेशनमा सहभागीका लागि अनुपम फुडल्याण्ड, बत्तीसपुतली र दियालो फुडल्याण्ड, बसुन्धरामा खानको व्यवस्था मिलाइएको छ ।