धरान / धरानको महेन्द्र क्याम्पसका विद्यार्थीले क्याम्पस प्रमुखको कुर्सी जलाएका छन् । 

क्याम्पसको जग्गा संरक्षण गर्न वेवास्ता गरेको भन्दै विद्यार्थीहरूले आज (सोमबार) दिउँसो क्याम्पस प्रमुख दामोदर भण्डारीको कुर्सी जलाएका हुन् । 

OM Sai Pathibhara Hospital

क्याम्पस प्रशासन, जनप्रतिनिधि र भूमाफियाबीच मिलेमतो भएका कारण विरोध स्वरुप कुर्सी जलाउनु परेको विद्यार्थी नेता बुद्रोस लिम्बूले बताए । 

वारेसमार्फत क्याम्पस प्रशासनले तारेख बुझेको र ३ पटक पेशी तोकिंदा पनि वकिल पठाएर बहस नगर्दा प्रशासन र क्याम्पस प्रमुखमाथि नै प्रश्न चिह्न खडा भएको उनी बताउँछन् । 

निवर्तमान स्ववियु सभापति सागर चेम्जोङले पनि क्याम्पस प्रशासनकै कमजोरीले करोडौँको जग्गा गुम्ने अवस्थामा पुगेको बताएका छन् । 

उनीहरूले संघर्ष समिति बनाएर जग्गा संरक्षणको लागि आन्दोलनको गर्ने घोषणा समेत गरेका छन् ।  

धरान ११ स्थित क्याम्पसले भोगचलन गरिरहेको कित्ता नम्बर २६६ को १७ कट्ठा १८ धुर जग्गाको स्रेस्तामा मोही डम्बरबहादुर घिमिरे छन् । उनको मृत्यु भइसकेको छ । 

करिब ३ वर्षअघि मृतक घिमिरेका छोरा यज्ञबहादुर क्षेत्रीले भूमिसुधार कार्यालय इनरुवामा मोही हक नामसारीको निवेदन दिएका थिए । 

निवेदन पछि क्याम्पसले मोही लगत कट्टाको निवेदन दिएको थियो । भूमिसुधारले गत असोज २५ गते मोही हक छोरा यज्ञबहादुरको नाममा नामसारी गरिदिने फैसला गरेको थियो । उनलाई मोही हकको जग्गा दिलाउन भूमाफियाहरू सक्रिय भएका छन् ।