राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को काठमाण्डौमा जारी महाधिवेशनमा पञ्चायती व्यवस्था देखि हालसम्म पार्टी र सत्तामा पकड जमाएर बसेका नेता कमल थापालाई पराजित गर्दै झापाली नेता राजेन्द्र लिङ्देन विजयी भएका छन् ।

थापासँगै हिन्दु राष्ट्र र राजसंस्था पक्षमा राजनितीमा लागेका लिङ्देनले अध्यक्ष पदका लागि भएको निर्वाचनमा २ सय मतले थापालाई पराजित गरी अध्यक्ष बनेका हुन् ।

OM Sai Pathibhara Hospital

सर्वसम्मत नेतृत्व चयन हुन नसकेपछि भएको निर्वाचनमा थापा र लिङ्देन छुट्टा छुट्टै प्यानलनै बनाएर निर्वाचनमा होमिएका थिए । शनिवार भएको निर्वाचनको आइतवार सार्वजनिक नतिजा अनुसार अध्यक्षमा निर्वाचित भएका लिङ्देनले १८१७ र थापाले १६१७ मत ल्याएका छन् । कूल ३८६५ मत खसेकामा ४३१ मत बदर भएको छ ।

अध्यक्षमा थापा पराजित भएपनि पदाधिकारी सहित केन्द्रिय सदस्यमा भने थापा पक्षका उमेद्धार विजयी भएका छन् । थापा अध्यक्षमा पराजित हुँदा चार उपाध्यक्ष मध्ये तिन उपाध्यक्षमा थापा समूहकै नेता विजयी भएका छन् । सर्वाधिक मतका साथ उपाध्यक्षमा विजयी भएका विक्रम पाण्डेलाई भने दुवै पक्षले आफ्नो सूचीमा राखेर  आफ्नो समुहको भनेर दावी गर्दै आएका छन् ।

उपाध्यक्षमा विजयी बुद्धिमान तामाङ र ध्रुवबहादुर प्रधान थापा समुहका हुन भने महिला उपाध्यक्षमा  पनि थापा समूहकै रोशन कार्की विजयी भएकी छन्। त्यसैगरि तीन महामन्त्रीमा पनि २ जना थापा पक्षकै उम्मेदवार विजयी भएका छन्। थापा समुहबाट भुवन पाठक र महिलातर्फ कुन्तीकुमारी शाही महामन्त्री पदमा विजयी भएकी हुन्। महामन्त्रीमा लिङ्देन पक्षका धवलशम्शेर राणाले विजयी भए भने रेखा थापा पराजित भएकी छन् ।

निर्वाचनले ४ उपाध्यक्ष र ३ महामन्त्रीसहित राप्रपाका १४८ जना केन्द्रीय सदस्य चयन गरेको छ । कूल ४ हजार ३ सय ७९ महाधिवेशन प्रतिनिधिमध्ये ५१४ जनाले मतदान गरेनन् । पार्टी र सरकारमा लामो समय सम्म दवदवा कायम गरेका थापाले पराजय पछि आक्रोस पोखेका छन् । पार्टीका अन्य दुई अध्यक्ष पशुपति शमशेर राणा र प्रकाशचन्द्र लोहनी नेतृत्व हस्तान्तरण गर्न तयार बनेपनि थापा तयार नहुँदा निर्वाचन भएको थियो । पराजित थापाले पराजयको दोष पूर्व राजा र राजपरिवारलाई दिएका छन् । उनले सामाजिक संजाल ट्वीटरमा ट्वीट गर्दै त्यसको दोष निर्मल निवाशलाई दिएका छन् ।

०४६ सालमा झापाको मेची क्याम्पसका विध्यार्थी राम थापाको हत्यामा संलग्नताको आरोप लागेपछि लिङ्देन राष्ट्रिय रुपमा परिचित भएका थिए । ०३६ सालमा तत्कालिन पञ्चायती व्यवस्थाको संरक्षणका लागि बनाईएको राष्ट्रवादी स्वतन्त्र विद्यार्थी मण्डलबाट राजनिति थालेका थिए । तत्कालिन समयमा मण्डले भनेर चिनिने सो समुह पछि तत्कालिन प्रधानमन्त्री सुर्य बहादुर थापाले विघटन गरिदिएका थिए । मेची क्याम्पसका विध्यार्थी राम थापाको हत्यापछि चर्चित बनेका लिङ्देन प्रजातन्त्र आएपछि पञ्चयात समर्थकले बनाएको राष्ट्रिय प्रजातन्त्र पार्टीको विध्यार्थी संगठन राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनको संस्थापक अध्यक्ष बन्न सफल भएका थिए ।