काठमाडौँ, । राष्ट्रिय सतर्कता केन्द्रले मापदण्ड पूरा नभएका पाठ्यसामग्री बिक्री वितरणमा पूर्ण रोक लगाउन पाठ्यक्रम विकास केन्द्रलाई निर्देशन दिएको छ ।
केन्द्रले उजुरी, फस्र्योट, निर्देशन, तामेलीमा राखेको विवरण सार्वजनिक गरेको छ । गत आर्थिक वर्षमा केन्द्रमा ४४४ उजुरी परेको थिए । जसमध्ये १५६ वटा उजुरी फस्र्योट गरिएको तथा ४० वटा उजुरीमा सम्बन्धित निकाय तथा विभागमा निर्देशन दिएको केन्द्रका सचिव दिनेशकुमार घिमिरेले जानकारी दिएका छन ।
केन्द्रमा परेको १६ वटा उजुरीमा थप छानबिन तथा अनुसन्धानका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा सिफारिस गरेको छ । ९९ वटा उजुरी तामेलीमा राखिएका छन् । केन्द्रमा परेको उजुरीमध्ये सिंहदरबार परिसरभित्र सञ्चालनमा रहेका चमेना गृहको नियमन, जग्गा अपचलन, पाठ्यसामग्रीको गुणस्तरलगायतका रहेका छन् ।
सिंहदरबार परिसरभित्र रहेको चमेनागृह सञ्चालनका लागि मापदण्ड बनाउने भएको छ । सिंहदरबार परिसरभित्र सञ्चालित चमेना गृहहरूले प्रचलित नियम – कानुनको पालना नगरेको उजुरी परेपछि राष्ट्रिय सतर्कता केन्द्रले मापदण्ड बनाएर नियमन गर्ने निर्णय गरेको हो ।
केन्द्रले प्रहरी उपरीक्षक अर्जुनकुमार खड्काको संयोजकत्वमा मापदण्ड निर्माण समिति गठन गरेको हो । निर्णयबमोजिम समितिमा अर्थ मन्त्रालय, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग र सङ्घीय सचिवालय निर्माण व्यवस्थापन कार्यालयका एक एक जना प्रतिनिधि रहने गरी पाँच सदस्य रहने छन् । बैठकले चमेनागृह सञ्चालनका लागि अनुमति दिएका निकायलाई भान्साघरमा सीटीईटीभी राखेर अनुगमन गर्न निर्देशन दिएको छ ।