धरान / महेन्द्र बहुमुखी क्याम्पस धरानको मोही हकदाबी भएको मुद्दामा भूमि सुधार तथा मालपोत कार्यालय सुनसरीले क्याम्पसको विपक्षमा फैसला गरेको छ ।

मृत्यु भइसकेका मोही डम्बरबहादुर घिमिरेको नाममा रहेको क्याम्पसको जग्गा भूमिसुधार कार्यालय सुनसरीले घिमिरेको छोराको नाममा नामसारी गर्ने फैसला गरेको हो । 

OM Sai Pathibhara Hospital

क्याम्पसको स्रेस्तामा मोही कायम भएको घिमिरेको छोरा यज्ञबहादुर क्षेत्री र क्याम्पस प्रशासन दुवैले मोही नामसारीको लागि भूमिसुधार कार्यालयमा निवेदन दिएका थिए । 

तर, भूमि सुधार कार्यालयले भने यज्ञबहादुरको पक्षमा फैसला गरेको छ । सार्वजनिक सम्पत्ति संरक्षण गर्नुपर्नेमा विपक्षमा फैसला भएको भन्दै समाजसेवी प्रेमप्रसाद पराजुलीले आपत्ती जनाएका छन् । 

क्याम्पसको विपक्षमा असोज २५ गते मुद्दा फैसला भए पनि क्याम्पसलाई २ दिन अघि सोमबार मात्र जानकारी आएको भन्दै यो फैसलाविरुद्ध पुनरावेदन गर्ने तयारी भइरहेको पराजुलीले बताए । 

‘दशैं विदाको अघिल्लो दिन फैसला भएको रहेछ । त्यसपछि लामो बिदा भयो, क्याम्पसलाई यो सोमबार मात्र जानकारी आयो,’ उनले भने, ‘यो फैसलाविरुद्ध पुनरावेदन गछौं, कानुनी लडाइ गछौँ ।’

२०३४ सालमा किनेको साविक धरान ९ (क) हाल धरान ११ स्वास्तिक चोकमा पर्ने कित्ता नम्बर २६६ को १७ कट्ठा १८ धुर जग्गा श्याम गोविन्द श्रेष्ठबाट क्याम्पसले किनेको थियो । 

तर, मोही घिमिरेलाई त्यसबेला नै चित्त बुझाएर जग्गा किनबेच गरिएको भएपनि लगतकट्टा नगरिँदा अहिले भुमाफियाहरुले जग्गा हडप्न उनका छोरा यज्ञबहादुर क्षेत्रीलाई अघि सारेको क्याम्पस प्रशासनको आरोप छ ।