एजेन्सी / अर्जेन्टिनाका कप्तान एवं पेरिस सेन्ट जर्मेन (पीएसजी)का फरवार्ड लियोनल मेस्सीले सातौँ पटक बालोन डी’ओर अवार्ड जितेका छन् । फ्रान्सको पेरिसमा सोमबार राति आयोजित विशेष समारोहबीच मेस्सीलाई सातौँपटक यो अवार्ड प्रदान गरिएको हो ।

विश्वभरका पत्रकारहरूको निर्णायक मण्डलले गरेको मतदानमा बायर्न म्युनिखका स्ट्राइकर रोबर्ट लेवान्डोस्की दोस्रो र चेल्सी अनि इटालीका मिडफिल्डर जोर्गिन्हो तेस्रो भए ।

OM Sai Pathibhara Hospital

मेस्सी यो अवार्ड सर्वाधिक जित्ने पहिलो खेलाडी समेत बनेका छन् । यसअघि मेस्सीले सन् २००९, २०१०, २०११, २०१२, २०१५ र २०१९ मा अवार्ड जितेका थिए । मेस्सी पछि रोनाल्डोले पाँच पटक अवार्ड जितेका छन् । कोरोना महामारीका कारण गत वर्ष  भने यो अवार्ड रद्द भएको थियो ।

३४ वर्षीय मेस्सीले बार्सिलोनाका लागि गत सिजन ४८ खेलमा ३८ गोल गरेका थिए । अर्जेन्टिनाको कप्तानी गरेका उनले जुलाईमा कोपा अमेरिकाको उपाधि जितेका थिए । त्यो उनको करियरको पहिलो प्रमुख अन्तर्राष्ट्रिय उपाधि हो ।

त्यसपछि पिएसजी पुगेका उनले हालसम्म ११ खेल मात्र खेलेका छन् । ११ खेलमा उनले हालसम्म चार गोल गरेका छन् ।