महोत्तरी / राष्ट्रपति विद्यादेवी भण्डारीले महोत्तरीको मटिहानी नगरपालिका –७ स्थित राजकीय संस्कृत माध्यमिक विद्यालय परिसरमै पुगेर अवलोकन गरेपछि विद्यालय परिवार उत्साहित भएका छन् । 

देशकै जेठो मानिने राजकीय संस्कृत माध्यमिक परिसरमै पुगेर अवलोकन गर्दै शैक्षिक र भौतिक अवस्थाबारे चासो देखाएपछि उक्त विद्यालयका शिक्षक, विद्यार्थी र मटिहानी वासी उत्साहित भएका हुन् । 

OM Sai Pathibhara Hospital

राष्ट्रपति विद्यादेवी भण्डारीले गत सोमबार विद्यालयको अवलोकन गर्दै विद्यालयका गतिविधिबारे जानकारी लिएकी थिइन् । 
    
“राष्ट्रपति भण्डारीले विद्यालयको शैक्षिक, भौतिक अवस्थाबारे चासो देखाउनुभयो”, विद्यालयका प्रधानाध्यापक ईश्वरीप्रसाद पौडेलले भने, “राष्ट्रपतिले विद्यालयको सुधारका लागि के गर्न सकिन्छ ? भन्ने चासो देखाउनुभएको छ, राष्ट्रप्रमुखको यो चासोले हामी उत्साहित भएका छौँ ।”    
    
विसं. १७७५ मा जयकृष्ण दास नामका एक सन्तले स्थापना गरेको गुरुकुल कालान्तरमा संस्कृत पाठशाला भनिँदै अहिले राजकीय संस्कृत माध्यमिक विद्यालयका नाममा सञ्चालित छ । 

शैक्षिक जागरण र सुधारका अग्रदूत बाल गुरु षडानन्द (भोजपुर, दिङ्ला) ले शिक्षा आर्जन गरेको यो विद्यालयलाई पछिल्लो कालमा नेपालको प्रजातान्त्रिक आन्दोलन (२०१७–२०४६) मा यहीँकै विद्यार्थीले सहादत दिएका थिए ।   
    
करिब १५ कठ्ठा क्षेत्रफलमा फैलिएको उक्त विद्यालयमा अहिले कक्षा –८ देखि १२ सम्म अध्ययन/अध्यापन हुन्छ । 
    
विसं २०४६ देखि विद्यालयमा पढ्न आउने विद्यार्थी घटेका छन् । खासमा प्रजातन्त्र पुनःस्थापनायता ठाउँठाउँमा विद्यालय स्थापनाको लहर चलेपछि विकट पहाडि भेगबाट पढ्न आउने विद्यार्थीको सङ्ख्या घटेको यहाँका शिक्षक बताउँछन् । 

“यहाँ भारतदेखि नेपालका विकट पहाडि भेगका विद्यार्थी भरिभराउ हुन्थे”, यसै विद्यालयमा अध्ययन गरेर अहिले यहीं नै कर्मकाण्ड विषयका शिक्षक रहेका शोभाकान्त झा भन्छन्, “ती दिन सम्झँदा अहिले सुनसानझैँ लाग्छ ।” 

अहिले पनि मुलुकका २७ जिल्ला र छिमेकको भारतका विभिन्न ठाउँका गरी १५० विद्यार्थी अध्ययनरत रहेका झाले बताए ।