बिर्तामोड / पूर्वी तराई भागमा बसोवास गर्दै आएका अत्यन्त लोपोन्मुख सन्थाली भाषाको सन्थाली वर्णमालाको लोकापर्ण गरिएको छ । 

आदर्श बहुमुखी क्याम्पसमा विविएस तेस्रो वर्षका विद्यार्थी शिवु मुर्मुद्वारा लिखित सन्थाली वर्णमाला (ओल चिकी)को पूर्व शिक्षामन्त्री गिरीराजमणि पोखरेलले विशेष कार्यक्रमकाबीच बिर्तामोडमा विमोचन गरेका हुन् । 

OM Sai Pathibhara Hospital

पाँच वर्षको खोज अनुसन्धानपछि मुर्मुले प्रकाशनमा ल्याएको वर्णमालाको पुस्तक विमोचन गर्दै पूर्वमन्त्री पोखरेलले राज्यले हरेक लोपोन्मुख भाषा, लिपि र संस्कृतिको संरक्षणमा ध्यान दिनु जरुरी भएको बताए । 

साथै, उनले राष्ट्रिय जनगणना चलिरहेको बेला धेरै यस्ता भाषी र जातिहरुको वास्तविक तथ्याङ्क ल्याउनका लागि सबैले चनाखो रहन समेत सुझाव दिए ।

सन्थाल समुदायका जनप्रतिनिधि संविधानसभा सदस्य मोहन टुडुले सन्थालका १२ जाति मध्ये केही जाति नेपालमा पूर्ण लोप भइसकेको तथा कक्षा १ र २ बाहेक अन्य कक्षाको कक्षागत पाठ्यपुस्तक छपाई नहुँदा झापामा सन्थाली भाषा पढनपाढन हुन नपाएको जानकारी दिए ।

सन्थाली भाषाको लिपि पढ्न र जान्न चाहनेहरूका लागि सहज होस् भन्ने उद्देश्यले शैक्षिक पुस्तकको रुपमा सन्थाली वर्णमाला लेखिएको लेखक शिवु मुर्मुले बताए ।

सन्थाली (ओल चिकीको) माध्यमबाट लेख्दा सन्थाली भाषाको शुद्ध उच्चारण गर्न सकिने मुर्मुले बताए । ओल चिकीमा स्वर वर्ण छ वटा, व्यन्जन वर्ण २४ वटा र विशेषक चिन्ह पाँच वटा गरी ३५ वटा वर्ण हुने लेखक मुर्मुले बताए ।  

भारतको उडिसा राज्यको मयुरवनका पण्डित रघुनाथ मुर्मुले ओल चिकी लिपिको शुरु गरेको बताउँदै आफूले अग्रज र अनलाइनको माध्यमबाट यो लिपिसिकेको मुर्मुको भनाइ छ ।

पूर्वको झापा, मोरङ र सुनसरीमा सन्थालहरुको बढी बसोबास रहेको र जनगणना २०६८ का अनुसार सन्थाल समुदायको संख्या ५१ हजार ७३५ रहेको छ ।