काठमाडौँ / नेपाल बार एसोसिएसनले भोलि शुक्रबार सबै बेन्च बहिष्कार गर्ने घोषणा गरेको छ ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग्दै आन्दोलनमा उत्रिएको बारले शुक्रबार सबै बेन्च बहिष्कार गर्ने घोषणा गरेको हो ।

कार्यपालिकासँग मिलेर राजनीतिक भागबन्डा खोजेकोलगायतका आरोप लगाएर सर्वोच्च अदालतकै १९ जना न्यायाधीश र बार आन्दोलनमा छ ।

सोही क्रममा बिहीबार सर्वोच्च अदालतमा धर्ना दिएका कानुन व्यवसायी र प्रहरीबीच घम्साघम्सी भएको छ । 

घम्साघम्सीका क्रममा बार महासचिवसहित ६ जना कानुन व्यवसायी घाइते भएका छन् । 

घाइते हुनेमा नेपाल बार एशोसिएसनका महासचिव लीलामणि पौडेल, उपाध्यक्ष रक्षा बस्याल, पूर्वउपाध्यक्ष कुमार शर्मा आचार्य, पूर्व केन्द्रीय सदस्य रमण कर्ण, उच्च बार पाटनका सदस्य मुकुन्द भट्टराई र केन्द्रीय सदस्य प्रकाश महर्जन रहेका छन् । 

प्रहरी दमनको विरोधमा भोलि शुक्रबार सम्पूर्ण इजलास बहिष्कार गर्ने बारका महासचिव लिलामणि पौडेल जानकारी दिए ।

शुक्रबार सर्वोच्चको सबै इजलासको बहस पैरवी बहिष्कार गर्ने अध्यक्ष चण्डेश्वर श्रेष्ठले पनि धर्नास्थलबाट जानकारी गराए ।