विराटनगर / प्रदेश १ का नवनियुक्त मुख्यमन्त्री राजेन्द्र राईले कात्तिक ३० गते विश्वासको मत लिने भएका छन् ।
राईले अव बस्ने प्रदेशसभाको बैठकमा विश्वासको मत लिने भएका हुन् । प्रदेशसभा सचिवालयले सूचना प्रकाशित गरी कात्तिक ३० गतेका लागि बैठक बस्ने जनाएको छ ।
तत्कालीन मुख्यमन्त्री भीमप्रसाद आचार्यले पदबाट राजीनामा दिएपछि राई मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।
मुख्यमन्त्री राईले प्रदेशसभाबाट विश्वासको मत लिए लगतै मन्त्रिपरिषद् विस्तार गर्ने भएका छन् । विश्वासको मत लिएर मंसिर पहिलो साता नै मन्त्रिपरिषद् विस्तार गर्ने तयारी रहेको मुख्यमन्त्री राईले बताए ।
गठबन्धन दल बीचको सहमतिमै चाँडै मन्त्रिमण्डल बिस्तार हुने उनको भनाइ छ । विश्वासको मत लिए लगतै सरकार विस्तारका लागि मन्त्रीको नाम पठाउन गठबन्धन दललाई आग्रह गरिने उनले बताए ।
बढीमा ११ सदस्यीय मन्त्रिमण्डल बनाउने तयारी रहेको मुख्यमन्त्री राईले बताए । मुख्यमन्त्री राईले अध्ययनपछि मन्त्रालय विभाजन गरिने बताए । हाल प्रदेश १ मा सात वटा मन्त्रालय छन् ।