बिर्तामोड / आईसीसी टी –२० विश्वकप २०२१ क्रिकेट प्रतियोगिताको सेमिफाइनल खेलहरू आजबाट सुरु हुँदैछन् । 

यूएईको अबु धाबीमा हुने पहिलो खेलमा इंग्ल्यान्ड र  न्युजिल्याण्ड भिड्नेछन् । इंग्ल्यान्ड आफ्नो समूहको विजेताको रुपमा सेमिफाइनलमा पुगेको हो ।

OM Sai Pathibhara Hospital

इंग्ल्याण्डले समूहका ५ मध्ये ४ खेल जितेको थियो भने एक खेल हारेको थियो । समुह चरणको अन्तिम खेलमा दक्षिण अफ्रिकासँग हार्नुअघि इंग्ल्याण्डले अष्ट्रेलिया, वेष्ट इंडीज, श्रीलंका र बङ्गलादेशलाई हराएको थियो ।

उता न्युजिल्याण्ड आफ्नो समुहमा उपविजेता बन्दै सेमिफाइनलमा पुगेको हो । तुलनात्मकरूपमा कमजोर मानिएको यो समुहमा न्युजिल्याण्डले पाकिस्तानसँग हार बेहोर्दा भारत, अफगानिस्तान, नामिबिया र स्कटल्याण्डलाई हराएको थियो ।

समूहको अन्तिम खेलमा जेसन रोय घाइते भएपछि इंग्ल्याण्ड आज दबाबमा देखिनेछ । उत्कृष्ट फर्ममा रहेका जोस बट्लरसँगै आज रोयको ठाउँमा जोनी बेयरस्टो ओपनिङ ब्याटिङमा आउन सक्छन् ।

यो खेलको विजेताले आइतबार हुने फाइनल खेलमा पाकिस्तान र अष्ट्रेलियामध्ये एक टोलीसँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ । प्रतियोगिताको दोस्रो सेमिफाइनल खेलमा भोलि बेलुकी पाकिस्तानले अष्ट्रेलियासँग खेल्नेछ ।