विराटनगर  / विराटनगर महानगरपालिकाले शुक्रबारदेखि विद्यालय खोल्न महानगरभित्रका सबै शैक्षिक संस्थाहरूलाई निर्देशन दिएको छ । 

मंगलबार बसेको नगर शिक्षा समितिको बैठकले निर्णय गरेर महानगरपालिकाभित्रका सामुदायिक र संस्थागत विद्यालयहरू सञ्चालन गर्न निर्देशन दिएको हो ।

OM Sai Pathibhara Hospital

महानगरको शैक्षिक प्रशासन महाशाखाका अधिकृत कृष्णप्रसाद भट्टराईका अनुसार कोभिड –१९ को जोखिम कम हुँदै गएको र शिक्षा मन्त्रालय अन्तरगतको शिक्षा तथा मानव श्रोत विकास महाशाखाले रेडियो टेलिभिजनबाट सञ्चालन गर्दै आएको कक्षासमेत बन्द गरेकोले सबै पक्षहरूसँग छलफल गरेर विद्यालय खोल्ने निर्णय गरिएको जानकारी दिए ।

अधिकृत भट्टराईले हस्ताक्षर गरेको पत्रमा भनिएको छ, ‘स्वास्थ्यसम्बन्धी मापदण्डको पूर्ण रूपमा पालना गरी गराई कात्तिक २६ गतेबाट सम्पूर्ण विद्यालयमा पूर्णकालीन समयसम्म पठनपाठन कार्य सञ्चालन गर्ने निर्णय भएकोले सोही बमोजिम गर्न गराउन अनुरोध छ ।’

छलफलमा सामुदायिक विद्यालयका प्रतिनिधि, शिक्षक महासङ्घका प्रतिनिधि, निजी विद्यालयहरूको छाता संस्था प्याब्सन, एनप्याब्सन र प्लसटुहरुको संस्था हिसानका प्रतिनिधिहरू सबैले विद्यालय खोल्न सहमति जनाएकोले निर्णय गरिएको जनाइएको छ ।