“नेपालीजनको..” बोलको नरेन्द्र दंगालको देउसी गीत आज इटहरी सुनसरीमा एक औपचारिक कार्यक्रमका बीच लोकार्पण गरिएको छ ।

वरिष्ठ गायक बालकृष्ण कार्कीको प्रमुख आतिथ्यतामा भएको लोकार्पण कार्यक्रममा विशिष्ट अतिथिको रुपमा नागरिक समाज इटहरीका अध्यक्ष राजु के.सी, सुन्दरहरैंचा वडा –४ का वडाध्यक्ष शैलेन्द्र श्रेष्ठ, प्रेस चौतारी नेपालका केन्द्रिय उपाध्यक्ष लिलाराज भट्टराई र पत्रकार महासंघ सुनसरीका उपाध्यक्ष गणेश निरौलाको उपस्थिति रहेको थियो । 

OM Sai Pathibhara Hospital

तिहारको पूर्वसन्ध्यामा लोकार्पण गरिएको उक्त गीतको भिडियो परम्परागत देउसी संस्कृतिको जर्गेना गर्ने हेतुले साथै मौलिक संस्कृतिको संरक्षण गर्ने उद्देश्यले तयार गरिएको गायक, रचनाकार तथा संगीतकार दङ्गालले बताएका छन् । 


कार्यक्रममा बोल्दै प्रमुख अतिथि कार्कीले देउसी भैलो खेल्ने क्रममा आजभोलि तडक भडक भित्रिरहेको सन्दर्भमा यस्ता मौलिक संस्कृति झल्किने गीतले संस्कृति संरक्षणमा टेवा पुग्ने भन्दै गीत अत्यन्त राम्रो बनेको बताए । 

त्यसैगरी विशिष्ट अतिथि राजु केसीले गीत लोकार्पणका अवसरमा शुभकामना दिँदै यस्ता गीतहरूलाई युवा पुस्ताले संरक्षण गर्ने प्रयास गर्नु अत्यन्त सह्रानीय कार्य भएको बताए । 

नेपाल पत्रकार महासंघ सुनसरीका उपाध्यक्ष गणेश निरौला देउसी गीतमा नेपाली मौलिकता भेटिएको भन्दै सोलुखुम्बु जिल्लामा प्रचलनमा रहेको अर्को देउसी भाका सुनाउँदै त्यसलाई पनि भिडियोमा उतारेर सबैमाझ ल्याउन आग्रह गरे । 

पत्रकार रेवती निरौलाको संयोजनमा सुनसरी र मोरङका सञ्चारकर्मीहरूकाे संयुक्त प्रयासमा तयार गरिएको उक्त गीतको भिडियोमा सुनसरी र मोरङका पत्रकारहरूको अभिनय रहेको छ भने हाँस्य अभिनयमार्फत बालकुमार थेवेले गीतमा सुन्दरमा थपेका छन् । 

आदर्श बाल क्लब सुन्दरहरैंचा मोरङका कलाकारहरूको नृत्य रहेको उक्त गीतमा कोरियोग्राफी रुपक चौधरीले गरेका छन् । यस्तै संगीत संयोजन विवश दंगाल, निर्देशन रोहित खनाल र छायांकन पारस चौधरीले गरेका छन् । 

हाइलाइटस् नेपाल नामको युट्युब च्यानलबाट गीतको भिडियो सार्वजनिक गरिएको छ ।