अर्जेन्टिनी स्टार लियोनेल मेस्सीले क्याटालान टोलीसँग २१ वर्ष बिताउँदै आफूलाई विश्वकै उत्कृष्ट खेलाडीका रुपमा स्थापित गर्न सफल भएका थिए । तर, क्लबले नयाँ करार दिन असमर्थ भएपछि यो सिजन ३४ वर्षीय खेलाडी बार्सा छाड्न बाध्य भएका थिए ।मेस्सीले फुटबल सन्यास लिएपछि प्राविधिक सेक्रेटरीको पदमा बार्सिलोनामै फर्किएर क्लबलाई सहयोग गर्ने इच्छा व्यक्त गरेका छन् ।

हाल पेरिस सेन्ट जर्मेनमा रहेका मेस्सीको मन भने अझै क्याम्प नाउमा रहेको देखिएको छ । आफ्नो करियर अन्त्य भएपछि उनले कुनै न कुनै रुपमा बार्सामा नै फर्किने योजना पनि बनाउन सुरु गरिसकेका छन् । स्पोर्टसँगको अन्तरवार्तामा मेस्सीलाई कुनै दिन बार्सिलोना फर्कने योजना छ कि छैन ? भनेर सोधिएको थियो ।मेस्सीले  जवाफमा क्लबलाई सहयोग गर्न पाउँदा खुसी हुने साथै कुनै दिन  प्राविधिक सेक्रेटरी बन्न चाहेको समेत बताएका थिए । बार्सिलोना आफुले माया गरेको क्लव भएको र त्यो माया सधैँ बढी नै रहने उनले जनाएका थिए ।

OM Sai Pathibhara Hospital

मेस्सीले गत अगस्तमा पीएसजीसँग एक वर्षको करार गरेका थिए । यसमा करारलाई थप एक वर्ष नवीकरण गर्ने विकल्प रहेको छ । उनले पीएसजी नै आफ्नो अन्तिम क्लब हुने भनेर बताएका छैनन् । उनले आफ्नो करियर बाल्यकालको क्लब न्युवेल्स ओल्ड ब्वाइजमा बिताउन चाहेको पनि कयौँ पटक बताएका छन् । हालसम्म पीएसजीमा मेस्सीले ८ खेलमा ३ गोल गरेका छन् । सबै गोल च्याम्पियन्स लिगमा भएका छन् । पहिलो गोल उनले म्यान्चेस्टर सिटीलाई २० ले हराउने क्रममा गरे भने आरबी लेइपजीगलाई ३२ ले हराउने क्रममा उनले दुई गोल गरेका थिए । गत शनिबार लिलविरुद्धको खेलमा उनले ४५ मिनेट मात्र खेलेका थिए ।