काठमाडौँ / नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सभामुख अग्नि सापकोटाले संसदीय व्यवस्थाको मर्यादा कायम गर्न नसकेको आरोप लगाएका छन् ।
एमाले सिन्धुपाल्चोक–काठमाडौं सम्पर्क मञ्चले शनिबार आयोजना गरेको भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् ।
ओलीले भने, –‘अबको निर्वाचनमा अग्नि सापकोटाजस्ता संसदीय व्यवस्थाका कलङ्कलाई कसैगरी एमालेले हराउनै पर्छ । सिन्धुपाल्चोकबाट प्रतिनिधि सभामा एमालेले २ सीट र प्रदेश सभामा ४ सीट जसरी पनि जित्नै पर्छ । स्थानीय तहका प्रमुख, उपप्रमुख र सदस्य सबैमा एमालेले जित्नुपर्छ ।’
तिहार तथा छठ पर्वका अवसरमा शुभकामना आदान–प्रदानसमेत आयोजना गरिएको कार्यक्रममा ओलीले नेपालका चाडपर्वहरूले देशको विविधतालाई एकताबद्ध बनाउने बताएका छन् ।
उनले सिन्धुपाल्चोकमा एमालेका नेता कार्यकर्ता मिलेर पार्टीलाई विभाजनबाट रोकेकोमा कार्यकर्तालाई धन्यवाद दिँदै आफू बन्नका लागि देश बिगार्नेहरूलाई साथ नदिएको भन्दै नेता र कार्यकर्ताहरूको प्रशंसा गरे ।
सिन्धुपाल्चोकमा एमाले विभाजन अघि माधव नेपाल पक्ष बलियो थियो, तर सो पक्ष अहिले संस्थापनमै बसेको छ ।