काठमाडौँ / प्रधानमन्त्रीको कार्यवाहक जिम्मेवारी गृहमन्त्री बालकृष्ण खाँणले पाएका छन् ।
प्रधानमन्त्री शेरबहादुर देउवा ल्यान्डको ग्लास्कोमा आयोजना हुने जलवायु परिवर्तनसम्बन्धी ‘वर्ल्ड लिडर समिटमा’ सहभागी हुन बेलायत जाने भएपछि प्रधानमन्त्रीको कार्यवाहक जिम्मेवारी गृहमन्त्री खाँणले पाएका हुन् ।
प्रधानमन्त्री देउवा आज एक साताका लागि स्कटल्यान्डको ग्लास्कोमा आयोजना हुने जलवायु परिवर्तनसम्बन्धी ‘वर्ल्ड लिडर समिटमा’ सहभागी हुन बेलायत तर्फ जानेभएका छन् ।
जलवायु परिवर्तन सम्बन्धी उक्त समिटमा प्रधानमन्त्री देउवासहित १८ जनाको प्रतिनिधिमण्डल रहने बताइएको छ।
प्रधानमन्त्रीको सुरक्षामा खटिन ६ जना सुरक्षाकर्मी उनीसँगै जाने भएका छन्। परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले १८ देखि २० जनाको प्रतिनिधिमण्डल हुने जानकारी दिइन्।
शुक्रबार साँझ लन्डनमा उत्रने प्रधानमन्त्रीले अर्को दिन बेलायती मन्त्री र उच्च अधिकारीसँग भेटघाट गर्ने बताइएको छ। जलवायु परिवर्तन सम्बन्धी समिटका लागि उनी अक्टोबर ३१ तारिखमा लण्डनबाट ग्लास्गोतर्फ प्रस्थान गर्ने भएका छन्।
अक्टोबर ३१ (आगामी आइतबार, कात्तिक १४) देखि नोभेम्बर १२ सम्म जलवायु परिवर्तन सम्बन्धी समिट हुने भएको छ। युएन एफसीसीसीका सदस्य रहेका देशहरूको उक्त सम्मेलनमा सहभागिता रहनेछ।
यसअघि २०१९ मा जलवायु परिवर्तन सम्बन्धी समिट भएको थियो। यसपटक बेलायत र इटाली आयोजक बनेर सम्मेलन आयोजना गरेका छन्।
उक्त सम्मेलनलाई ‘कोप २६ समिट’ नाम दिइएको छ। उक्त सम्मेलनमा शक्तिशाली राष्ट्रका नेताहरु पनि सहभागी हुनेछन्।