गलकोट / नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले १४औँ महाधिवेशनपछि पार्टीमा गुटउपगुटको अन्त्य भएर जाने बताएका छन्। गुटउपगुटले कांग्रेस कमजोर भएको भन्दै यसको अन्त्य गरी पार्टी एकजुट भएर अगाडि बढ्ने उनले बताए।
बागलुङस्थित ग्रेस काठेखोला गाउँपालिका–५ बिहुँले चाडपर्वका अवसरमा बुधबार आयोजना गरेको शुभकामना आदानप्रदान तथा कार्यकर्ता भेटघाट कार्यक्रममा पौडेलले कांग्रेसलाई अब गुटको हिसाबले नभएर सिङ्गो कांग्रेसको हिसाबले हेर्न आम कार्यकर्तालाई आग्रह गरेका थिए।
मुलुकको संविधानको खेलबाड संविधानको पालकबाटै हुने गरेको भन्दै यस्तो कार्यले कसैलाई फाइदा नगर्ने उनले बताए। पौडेलले एकलौटी ढङ्गले सत्ता सञ्चालन गर्न खोज्दा संविधानको मर्मभन्दा बाहिर गएर मुलुकमा अधिनायकतन्त्र ल्याउन खोजेकोसमेत आरोप लगाए।
उनले कांग्रेस लोकतन्त्रको रक्षाका लागि उभिने दल भएका कारण कुनै पनि गुटउपगुट बाहिर रहेर लोकतन्त्रका पक्षमा उभिन कार्यकर्तालाई आग्रह गरेका थिए।
उनले मध्यपहाडी लोकमार्ग अन्तर्गतको बागलुङ खण्डमा कालोपत्रका लागि भइरहेको ढिलाइप्रति आफ्नो ध्यानाकर्षण भएको भन्दै यसलाई तत्काल अगाडि बढाउन पहल गर्ने बताए।