बिर्तामोड / नेकपा माओवादी केन्द्रले सदस्यता नवीकरण र स्थानीय सम्मेलनको कार्यतालिका संशोधन गरेको छ ।
आज (मंगलबार) बसेको पार्टीको स्थायी कमिटी बैठकले राष्ट्रिय सम्मेलनबाहेक अन्य तहका सम्मेलनको कार्यतालिका संशोधन गरेको हो ।
पार्टी सदस्यता नवीकरणको म्याद कात्तिक २५ गतेसम्म थपिएको प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए । महराका अनुसार टोल सम्मेलनहरू कात्तिक २७ गतेसम्म हुनेछन् ।
वडा सम्मेलनको म्याद मंसिर ४ सम्म थपिएको छ भने पालिका सम्मेलनहरू मंसिर ११ गतेसम्म सम्पन्न गर्नुपर्नेछ ।
प्रदेश सम्मेलन मंसिर २५ सम्म सकेर पुस दोस्रो साता राष्ट्रिय सम्मेलन गरिने महराको भनाइ छ ।
माओवादी केन्द्रले १४९ जनाको केन्द्रीय सल्लाहकार समिति गठन पनि गरेको छ । माओवादी केन्द्रले १४९ जनाको केन्द्रीय सल्लाहकार समिति र ९९ सदस्यीय ज्येष्ठ कम्युनिष्ट मञ्च गठन गरेको छ ।
यसैगरी निर्वाचन आयोग, लेखा आयोग र अनुशासन आयोग २५–२५ सदस्यीय गठन गरेको छ । निर्वाचन आयोग विष्णु पुकार श्रेष्ठको अध्यक्षतामा, लेखा आयोग पेशल कुमार पोखरेलको अध्यक्षतामा र अनुशासन आयोग टङ्क राईको अध्यक्षतामा बनाइएको छ ।
भूगोलभन्दा बाहिर काम गर्नेहरूको विशेष समिति १७५ सदस्यीय गठन गरिएको बताइएको छ ।