बिर्तामोड / नेपाली राष्ट्रिय फुटबल टिमका डिफेन्सिभ मिडफिल्डर रोहित चन्द माल्दिभ्सबाटै इन्डोनेसिया प्रस्थान गरेका छन् । साफ च्याम्पियनसिप फुटबलका लागि माल्दिभ्स आएका रोहित त्यहीँबाट इन्डोनेसिया गएका हुन् । 

रोहित इन्डोनेसियामा जकार्ता पर्सिजाबाट व्यवसायिक फुटबल खेल्दै आएका छन् । इन्डोनेसियाको शीर्ष डिभिजनको लिग चलिरहेको छ ।

OM Sai Pathibhara Hospital

उनी नेपालका लागि सर्वाधिक धेरै खेल खेल्ने दोस्रो खेलाडी हुन् । साफ च्याम्पियनसिपको फाइनलमा भारतविरुद्धको खेलसँगै रोहित सर्वाधिक खेल खेल्ने दोस्रो खेलाडी बनेका हुन् ।

रोहितले पूर्व कप्तान विराज महर्जनलाई उछिन्दै सर्वाधिक क्याप जित्ने दोस्रो खेलाडी बनेका हुन् । २९ वर्षीय रोहितले नेपालको लागि ७४ क्याप खेलेका छन् । विराजले नेपालका लागि ७३ खेल खेलेका छन् ।

नेपालको लागि सर्वाधिक खेल खेल्ने कीर्तिमान भने कप्तान तथा गोलकिपर किरण चेम्जोङको नाममा रहेको छ । किरणले ७९ खेल खेलेका छन् ।

रोहितले २००९ मा राष्ट्रिय टिममा डेब्यु गरेका थिए । मार्च २३ मा प्यालेस्टाइनविरुद्ध खेल्दै रोहितले डेब्यु गरेका थिए ।