बिर्तामोड / नेपाली क्रिकेट टोलीका स्पिनर सन्दीप लामिछानेले अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) को सेप्टेम्बर महिनाको उत्कृष्ट खेलाडी (प्लेयर अफ द मन्थ) अवार्ड जितेका छन् ।

काउन्सिल (आईसीसी)ले भोटिङका आधारमा सन्दीपलाई सेप्टेम्बर महिनाको प्लेयर अफ दी मन्थ घोषणा गरेको हो ।

OM Sai Pathibhara Hospital

आइसिसीले गत बुधबार सार्वजनिक गरेको प्लेयर अफ द मन्थको मनोनयनबाट सन्दीपले बंगलादेशका स्पिनर नासुम अहमद र अमेरिका ब्याटर जसकरण मल्होत्रालाई पछि पारेका हुन् । 

सन्दीपले अघिल्लो महिना ओमान भ्रमणमा सर्वोत्कृष्ट प्रदर्शन गर्दै ६ खेलमा १८ विकेट लिएका थिए । ओमानमा भएको आईसीसी विश्वकप लिग –२ र पपुवा न्युगिनीसँग दुई ओडीआई खेलमा उत्कृष्ट प्रदर्शन गरेपछि आइसीसीको प्लेयर अफ द मन्थको मनोनयन सूचीमा परेका थिए ।

ओमान भ्रमणमा नेपालको चारै जितमा सन्दीप नायक बनेका थिए । पिएनजीलाई पहिलो खेलमा सस्तैमा समेट्न सन्दीपले पहिलो खेलमा १० ओभरमा ३५ रन खर्चेर ४ विकेट लिँदै प्लेयर अफ द म्याच चुनिए । दोस्रो खेलमा नेपाललाई १ सय ५१ रनले विजयी गराउन सन्दीपले ५.१ ओभरमा ११ रन खर्चेर ६ विकेट लिएका थिए ।

अमेरिकालाई पाँच विकेटले पराजित गर्दा सन्दीपले दुई विकेट लिएका थिए । ओमानसँगको पहिलो खेलमा पेटमा समस्याको कारण उनले बलिङ गर्न सकेनन् । अमेरिकासँग दोस्रो खेलमा दुई विकेट लिँदा अन्तिम खेलमा ओमानलाई पराजित गर्न चार विकेट लिएका थिए । 

सन्दीप आइसीसीको प्लेयर अफ द मन्थको मनोनयनमा पर्ने दोस्रो नेपाली खेलाडी हुन् । यसअघि गत वैशाखमा ओपनर कुशल भुर्तेल आइसीसीको अप्रिलमा यस मनोयनमा परेका थिए । तर उक्त उपाधि भने पाकिस्तानका कप्तान बाबर आजमले गरेका थिए ।