जनपुरधाम / जनता समाजवादी पार्टी (जसपा) का प्रदेश २ का मुख्य सचिव शम्भु झाले पदबाट राजिनामा दिएका छन् । पार्टीमा काम गर्ने आफ्नो योग्यता र क्षमता नभएको भन्दै झाले पदबाट राजिनामा दिएका हुन् । 

जनता समाजवादी पार्टीको मुख्यसचिव भएर विगत ५ वर्ष दुई महिना सम्म काम गरेको बताउँदै झाले आफू बाँचुन्जेल अन्य कुनै पनि राजनीतिक पार्टीमा नजाने बताएका छन् । 

उनले आफ्नो कार्यकालका प्रदेश अध्यक्ष रेणु यादव र विजय यादवप्रति सदैव ऋणी रहिरहने समेत बताए ।

प्रदेश समितिलाई समायोजन गर्न पार्टीका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादव जनकपुरधाम आएको बेला उनले पार्टीबाट राजिनामा दिएका हुन् । 

पत्रकारिता पृष्ठभूमिका झा नेपाली कांग्रेसबाट राजनीति शुरु गरेका थिए । कांग्रेसका सप्तरी कोषाध्यक्ष रहेको समयमा उनी तत्कालीन मधेशी जनअधिकार फोरम नेपालमा प्रवेश गरेका थिए ।