बिर्तामोड  / प्रधानमन्त्री शेरबहादुर देउवाले नवनियुक्त उद्योग वाणिज्य तथा आपूर्ति  मन्त्री गजेन्द्र हमालको राजीनामा स्वीकृत गरेका छन् । हमालले आइतबार बिहान बालुवाटार पुगेर देउवालाई राजीनामा पत्र बुझाएका थिए । 

हमालले राजीनामा दिएसँगै देउवाले राजीनामा स्वीकृत गरेको प्रधानमन्त्री कार्यालयका एक अधिकारीले जानकारी दिए ।

गत असोज २२ गते हमाल मन्त्री नियुक्त भएका थिए । उनी विवादमा परेपछि मन्त्री बनेको तीन दिनमै राजीनामा दिएका हुन् । 

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको कोटाबाट मन्त्री बनेको आरोप लागेका हमालले कांग्रेस र आफ्नो बदनामी गरिएको भन्दै पदबाट राजिनामा दिएको बताए । देउवा निकट हमाल नाताले प्रधानन्यायाधीश जबराको जेठान हुन् ।

स्रोतका अनुसार राजीनामा बुझाउँदै हमालले भनेका छन्, ‘संविधान र कानूनी राज्यका पक्षमा लामो लडाइँ लड्दै आएको व्यक्ति भएकाले अहिले संविधानमाथि नै सार्वजनिक रूपमा प्रश्न उठ्दा पदमा बसिरहन उपयुक्त लागेन ।’