काठमाण्डौ//नेपाली फिल्म ‘एक्स नाइन’ गर्न बलिउड सुपरस्टार सुनिल सेट्टी तयार भएका छन्।

  सौगात मल्ल, अनमोल केसी र पुष्प खड्काले पहिलो पटक एकसाथ अभिनय गर्न लागेको फिल्म ‘एक्स नाइन’मा सुनिल सेट्टीलाई पनि अफर गरिएको हो।

OM Sai Pathibhara Hospital

फिल्मका निर्देशक मुकुन्द भट्ट र निर्माता विरेन कुँँवरले शुक्रवार मुम्बईमा सेट्टीसँग भेट गर्दै फिल्मको कथावस्तु र उनको चरित्रको बारेमा जानकारी गराएका हुन्।

सुनिल सेट्टीसँँगको भेट गरेको तस्विर फेसबुकमा साझेदार गर्दै निर्देशक भट्टले फिल्म ‘एक्स नाइन’ का लागि सुनिल सेट्टीसँँग राम्रो बैठक भएको   लिखित भनाइ सार्वजनिक गरेर जानकारी गराएका हुन्।

सेट्टीले आफ्नो अघिल्लो फिल्म र उनलाई सुनाएको ‘एक्स नाइन’ को चरित्र एकदमै मन पराएको बताएका छन्।

फिल्ममा सुनिल सेट्टीले काम गर्ने मौखिम सहमति भइसकेको र केही दिनमा कागजी सम्झौता हुने निर्देशक भट्टले बताएका छन्। पहिला सुनिल सेट्टीलाई भिलेनको भूमिका अफर गर्ने तयारीमा निर्माण टिम थियो ।

तर, अब उनी फिल्ममा सकारात्मक भूमिकामा देखिने बताइएको छ।

उनीसँँग भारु एक करोडमा सम्झौता गर्ने तयारीमा निर्माण टिम रहेको जानकारी प्राप्त छ ।

फिल्मका लागि भिलेनको भूमिका भने रणदीप हुड्डालाई अफर गरिएको छ । उनीसँग निर्देशक भट्टसहितको टोलीले केही चरण कुराकानी गरिसकेका छ ।

अहिले फिल्मका कलाकारहरु सौगात, अनमोल पुष्प र राज कटुवालले जिम र एक्सन ट्रेनिङ लिइरहेका छन् । यो ट्रेनिङ चार महिनासम्म चल्ने छ ।

विरेन्द्र बहादुर कुँँवर, मुकुन्द भट्ट, राजिव तामाङ, चन्द्र पन्त, विदुर  घतानी र प्रदीप थापा निर्माता रहेको फिल्मको कार्यकारी निर्मातामा निर्मल कुमार मिश्र, विनय श्रेष्ठ, सालिनी पोड्डर छन् ।

फिल्ममा चन्द्र पन्तको द्वन्द्व निर्देशन रहने बताइएको छ ।

 पुषदेखि क्यानडा, यूरोप र नेपालमा छायांकन हुने फिल्मको कथा, पटकथा र संवाद निर्देशक भट्ट र किंग योगीले संयुक्त रुपमा तयार पारेका हुन् । फिल्ममा प्रियंका थापा, नविन लम्सालको पनि अभिनय रहनेछ ।

फिल्मलाई विश्वको प्रतिष्ठित ओटीटी प्लेटफर्म नेटफ्लिक्समा पनि रिलिज गर्ने योजनामा निर्माण टिम छ ।

यो फिल्मलाई नेपालकै सबैभन्दा ठूलो एक्सन-थ्रिलर दाबी गरिएको बताइएको छ ।