इलाम / इलामको सूर्योदय नगरपालिकाको फिक्कलमा जारी कान्दुक भेट्रान फाइभ ए साइड फुटसल प्रतियोगिताको उपाधिको लागि इलाम भेट्रान्स र दार्जिलिङ भेट्रान्स बिच प्रतिस्पर्धा हुने भएको छ । 

आज सम्पन्न सेमिफाइनल खेलमा इलामले सूर्योदय भेट्रान्स र दार्जिलिङले आहाले भेट्रान्सलाई हराउँदै उपाधि भेट पक्का गरेका हुन् । पहिलो सेमिफाइनल खेलमा दार्जिलिङले आहालेलाई ९–४ गोल अन्तरले पराजित गर्दै उपाधि होडमा प्रवेश गर्न सफल रह्यो । 

OM Sai Pathibhara Hospital

दार्जिलिङको जितमा राजु तामाङ र फुर्वा तामाङले समान ३–३ गोल गरे । दावा तामाङले २ र सुवास सुब्बाले १ गोल गरे । आहालेको तर्फबाट दिलकुमार राईले ४ गोल फर्काए । 

फाइनल प्रवेशसँगै दार्जिलिङले कम्तीमा १६ हजार रुपैयाँ सुरक्षित गरेको छ । त्यसैगरी दोश्रो सेमिफाइनल खेलमा इलामले सूर्योदयलाई १४–१ गोल अन्तरले पराजित गर्न सफल रह्यो ।

 इलामको जितमा नगेन्द्र लिम्बुले ६ गोल गरे । रमेश गुरुङले ३, कप्तान दर्शन भक्तराज र सुरेन गुरुङले समान २–२ तथा प्रकाश थाम्सुहाङले १ गोल गरे । सूर्योदयको तर्फबाट शरण राईले सान्त्वना गोल फर्काए । 

कान्दुक रिक्रिएन सेन्टरको फुटसल मैदानमा जारी प्रतियोगिताको विजेताले ३५ हजार ५ र उपविजेताले १६ हजार ५ रुपैयाँ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । प्रतियोगितामा भारतका २ सहित ८ टिमको सहभागिता रहेको थियो ।