काठमाडौं / माल्दिभ्समा जारी साफ च्याम्पियनसिप फुटबलमा नेपालले श्रीलङ्कालाई पराजित गरेको छ । गएराति सम्पन्न खेलमा श्रीलंकालाई ३-२ गोल अन्तरले पराजित गर्दै नेपालले लगातार दोस्रो जित निकालेको हो ।

नेपालको जितमा सुमन लामा, अन्जन विष्ट र आयुस घलानले एक एक गोल गरे । श्रीलंकाका मार्भिन ह्यामिल्टन र डिलोन डी सिल्भाले एक एक गोल फर्काए ।

OM Sai Pathibhara Hospital

खेलको ३३औं मिनेटमा सुमनले गोल गर्दै नेपाललाई सुरुआती अग्रता दिलाएका थिए । उनको यो नेपालका लागि डेब्यु गोल हो । खेलको ५१औं मिनेटमा अन्जनले गोल गर्दै नेपाललाई २ शुन्यको अग्रता दिलाए ।

ह्यामिल्टनले ५७औं मिनेटमा २५ यार्ड टाढाबाट गोल गर्दै श्रीलंकालाई २-१ को स्थितिमा ल्याए ।

खेलको ८६औं मिनेटमापरिवर्तित खेलाडीको रुपमा मैदान प्रवेश गरेका युसले गोल गर्दै नेपाललाई ३-१ को अग्रता दिलाए । उनको यो नेपालका लागि पहिलो गोल हो ।

त्यसपछि खेलको इन्जुरी समयमा श्रीलंकाका डी सिल्भाले पेनाल्टीमा एक गोल गरेपनि नेपालले ३-२ गोल अन्तरको महत्वपूर्ण जित निकाल्न सफल भयो ।

यो जितसँगै नेपाल तालिकाको शीर्ष स्थानमा उक्लिएको छ। नेपालले २ खेलमा ६ अंक जोडेको छ । 

नेपालले पहिलो खेलमा माल्दिभ्सलाई १ शुन्यले हराएको थियो भने, लगातार दोस्रो जितपछि नेपाल फाइनल नजिक पुगेको छ।

श्रीलंकाको यो लगातार दोस्रो हार हो । पहिलो खेलमा श्रीलंका बंगलादेशसँग १ शुन्यले पराजित भएको थियो । लगातार दुई हार व्यहोरेको श्रीलंकाको फाइनल यात्रा कमजोर बनेको छ ।

अब नेपालले तेस्रो खेलमा भारतविरुद्ध आगामी आइतबार प्रतिस्पर्धा गर्नेछ ।

त्यस्तै नेपालले लिग चरणको अन्तिम खेलमा बंगलादेशसँग अक्टोबर १३ (असोज २७) मा खेल्नेछ।

यस संस्करणको साफ च्याम्पियनसिपमा ५ राष्ट्रको सहभागिता रहेको छ । यस पटक आयोजक माल्दिभ्स, नेपाल, भारत, बंगलादेश र श्रीलंकाको सहभागि भएका हुन ।

लिगमा पाँचै टोलीले एक अर्काविरुद्ध खेल्नेछन् । लिग चरणको खेलपछि शीर्ष दुई टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्ने छन्।