चितवन / चितवन राष्ट्रिय निकुञ्जमा पर्यटकीय गतिविधि खुला गरिएको छ । कोभिड –१९ को दोस्रो लहरसँगै पर्यटकीय गतिविधि बन्द थिए ।
हरेक वर्ष वर्षायाममा बन्द रहने निकुञ्जभित्रको पर्यटकीय गतिविधि वर्षा सकिएसँगै खुला हुने गर्दछ । यस वर्ष कोभिडका कारण वैशाखयता बन्द भएको गतिविधि खुला भएको हो ।
निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले निकुञ्जभित्र र बाहिरका सबै पर्यटकीय गतिविधि खुला गरिएको जानकारी दिए । निकुञ्जभित्रका बाटो मर्मत सकिएसँगै जिप सफारी सुरु गरिएको उनले बताए ।
यससँगै निकुञ्जमा पैदलयात्रा हुने गर्दछ । निकुञ्जसँगै जोडिएका मध्यवर्ती सामुदायिक वनमा जिप र पैदलसँगै हात्ती सफारी पनि हुने गर्दछ । सामुदायिक वनमा निर्माण गरिएका टावरमा रात बिताउने व्यवस्थासमेत रहेको छ । निकुञ्ज हुँदै बग्ने राप्ती नदीमा डुङ्गा सफारी हुने गर्दछ ।
क्षेत्रीय होटल सङ्घ सौराहाका अध्यक्ष दीपक भट्टराईका अनुसार अब सौराहा आउने पर्यटकले निकुञ्जका सबै गतिविधिमा सहभागी हुन पाउने भएका छन् ।
निकुञ्ज बाहिर रहेका कुमरोज, बाघमारा र चित्रसेन सामुदायिक वन भित्रको मुख्य भागमा रात बिताउन मिल्ने गरी टावर रहेका छन् । ती टावरमा बस्न रुचाउनेका लागि पनि गतिविधि खुला भएको उनले जानकारी दिए ।
निकुञ्जका गतिविधि खुला भएसँगै पर्यटकको सङ्ख्या बढ्ने अपेक्षा गरिएको छ । चाडपर्व सुरु भएकाले आन्तरिक पर्यटक क्रमशः बढ्दै गएको उनले बताए। फाट्टफुट्ट विदेशी पर्यटकसमेत आउन थालेका छन् ।
निकुञ्जका प्रवेश गर्ने क्षेत्र सौराहा, पटिहानी, जगतपुर र मेघौलीमा यतिबेला साना सभा, सम्मेलन, गोष्ठीलगायतका कार्यक्रम भइरहेका छन् । कतिपय होटलमा माडवारी समुदायका विवाहका कार्यक्रम बुक हुन थालेका छन् ।
चितवन आउने पर्यटक मुख्यरूपमा निकुञ्जभित्रका पर्यटकीय गतिविधिमा रमाउने गर्दछन् । निकुञ्जमा मुख्यरूपमा एकसिङ्गे गैँडा, पाटेबाघ लगायतका वन्यजन्तु, चराचुरुङ्गी, घडियाल गोही हेर्न पर्यटक आउने गर्दछन् ।