काठमाडौँ / साफ च्याम्पियनसिपको खेल शुक्रबार (भोलि)बाट सुरु हुँदैछ । पहिलो खेलमा नेपालले आयोजक माल्दिभ्ससँग खेल्दैछ ।

माल्दिभ्सको मालेमा हुने खेल नेपाली समय अनुसार राती ९ः४५ बजे हुनेछ । यसपटक प्रतियोगितामा ५ राष्ट्रको मात्र सहभागिता रहने भएकोले राउन्ड रोविन लिगका आधारमा च्याम्पियनसिप हुँदैछ । 

OM Sai Pathibhara Hospital

यसअघि नेपाल र आयोजक माल्दिभ्सबीच उद्घाटन खेल हुने भनिए पनि अब श्रीलंका र बंगलादेशबीच उद्घाटन खेल हुनेछ । नेपाल र माल्दिभ्सले पनि भोलि खेल्नेछन् । राउन्ड रोविनमा सबै टोलीले ४ खेल खेल्नुपर्नेछ । दोस्रो खेलमा नेपालले असोज १८ गते श्रीलंकाको सामना गर्नेछ । असोज २४ गते नेपाल र भारतबीच खेल हुनेछ ।

राउन्ड रोविनको अन्तिम दिन असोज २७ गते नेपाल र बंगलादेश खेल्नेछन् । राउन्ड रोविनका शीर्ष २ टोलीले असोज ३० गते उपाधिका लागि खेल्नेछन् । नेपाली टोली अहिले सम्म साफ च्याम्पियनसिपको फाइनल पुग्न सकेको छैन ।

यसैबीच साफ च्याम्पियनसिपको लागि माल्दिभ्समा रहेका नेपाली राष्ट्रिय फुटबल टिमका कप्तान तथा गोलकिपर किरण चेम्जोङले मैदानमा नतिजाका लागि लड्ने बताएका छन् । मालेमा आज आयोजित प्रि–म्याच कन्फरेन्समा बोल्दै कप्तान किरणले माल्दिभ्समा कुनैपनि टिमसँग नडराउने र नतिजाका लागि मैदानमा लड्ने बताएका हुन् ।