काठमाडौँ / प्रदेश दुईका मुख्यमन्त्री लालबाबु राउतले असोज २० गते विश्वासको मत लिने भएका छन् । सत्तारुढ दल जसपा विभाजन भएसँगै मुख्यमन्त्री राउतले विश्वासको मल लिन लागेका हुन् ।
बुधबार बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको अधिवेशन असोज २० गते बोलाउन प्रदेश प्रमुख समक्ष सिफारिस गरेको छ । अधिवेशन शुरु भएकै दिन मुख्यमन्त्री राउतले विश्वासको मत लिने प्रदेश २ का अर्थमन्त्री शैलेन्द्रप्रसाद साहले जानकारी दिए ।
प्रदेश २ को प्रदेशसभा बैठक असार २९ गतेपश्चात बस्न सकेको छैन। यस अवधिमा प्रमुख प्रतिपक्षी दल रहेको नेपाली काँग्रेस प्रदेश सरकारमा सहभागी भइसकेको छ भने सत्तारुढ दल रहेको जनता समाजवादी पार्टी विभाजित भएर दुईवटा पार्टीमा परिणत भइसकेको छ।
जनता समाजवादी पार्टी विभाजित भए पनि प्रदेश २ मा नेपाली कांग्रेस सरकारमा सहभागी भएको छ । केन्द्रदेखि प्रदेशसम्म नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीको गठबन्धन रहेकाले मुख्यमन्त्री राउतले प्रदेशसभामा सहजै विश्वासको मत लिन सक्छन् ।
प्रदेश २ मा १०४ सांसद छन् । अहिले सभामुखसहित जसपाका ३९, नेपाली कांग्रेसका १९, माओवादी केन्द्रका ८, एकीकृत समाजवादीका १३ र नेपाल संघीय समाजवादी पार्टीका १ गरी कुल ८० सांसदको सरकारलाई समर्थन प्राप्त छ ।
१०४ सदस्यीय प्रदेशसभामा ८० जनाको समर्थन रहेकाले मुख्यमन्त्री राउत विश्वासका मत पाउनेमा ढुक्क छन् ।