बिर्तामोड / सभामुख अग्निप्रसाद सापकोटाविरुद्धको मुद्दा  ‘हेर्न नमिल्ने’मा परेको छ । बुधबार संवैधानिक इजलासमा पेसी चढेको मुद्दा हेर्न नमिल्नेमा परेको हो । 

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा, न्यायाधीश दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडाको संवैधानिक इजलासले उक्त मुद्दा ‘हेर्न नमिल्ने’ मा राखेको हो ।

यसअघि २०७६ फागुन ३० गते सभामुख सपकोटाविरुद्धको मुद्दा पेशीमा चढाइएको थियो, तर मुद्दा हेर्न नभ्याएपछि सुनुवाइ सरेको थियो । सशस्त्र द्वन्द्वकालमा काभ्रेका अर्जुन लामाको हत्यामा संलग्न भएको आरोपमा सापकोटाविरुद्ध सर्वोच्चमा उजुरी परेको थियो ।

माओवादी युद्धका बेला अपहरणपछि मारिएका काभ्रेका अर्जुन लामाको हत्यामा सापकोटा प्रमुख दोषी रहेको भन्दै २०६८ सालमा मुद्दा परेको थियो ।

अर्जुन लामाकी पत्नी पूर्णमाया लामा, मानव अधिकारकर्मी सुशील प्याकुरेललगायतले २०६८ असार ६ गते दर्ता गरेका थिए । उक्त मद्दामाथि प्रारम्भिक फैसला गर्दै तत्कालीन न्यायाधीश सुशीला कार्की र ओमप्रकाश मिश्रको इजलासले उक्त मुद्दा संवैधानिक इजलासमा जाने आदेश गरेको थियो ।