बिर्तामोड / एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारका पालामा राजनीतिक नियुक्ति पाएकाले सरकार परिवर्तन पछि राजिनामा नदिएपछि सरकारले हटाउन तयारी थालेको छ ।
कांग्रेस सभापति शेर बहादुर देउवाको नेतृत्वमा सरकार बनेपछि पनि राजनीतिक कोटामा नियुक्त भएकाले पद छाड्न अटेर गर्न थालेपछि सरकारले हटाउन तयारी थालेको हो ।
राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव रमेश सिलवाल, राष्ट्रिय युवा परिषदका कार्यकारी उपाध्यक्ष माधव ढुंगेल र युवा स्वरोजगार कोषका कार्यकारी उपाध्यक्ष डा. कल्याण रोकालाई हटाउन सरकारले तयारी सुरु गरेको हो ।
उनीहरूलाई हटाउँदा अदालतको सहारा लिने सम्भावना देखिएपछि स्पष्टीकरण सोधेर हटाउने गरी सरकारले तयारी गरेको हो । तीनै जनालाई मन्त्रिपरिषद्ले नियुक्त गरेकाले मन्त्रिपरिषद्बाटै स्पष्टीकरण सोध्ने तयारी भएको छ ।
उनीहरूलाई सरकारले काम चित्तबुझ्दो नगरेको र सरकारको निर्देशन नमानेको लगायतका अभियोग लगाएर हटाउने तयारी भएको देउवा निकट स्रोतले जानकारी गराएको छ ।