नेकपा माओवादी केन्द्र निकटको विद्यार्थी संगठन अखिल क्रान्तिकारीको २२ औं सम्मेलनको तयारी सुरु भएको छ । सम्मेलनको तयारी सँगै संगठनको नेतृत्वका लागि विद्यार्थी नेताबीच प्रतिष्पर्धा हुने देखिएको छ । आगामी असोज १४ गतेदेखि १६ गतेसम्म काठमाण्डौमा हुने सम्मेलनले नयाँ नेतृत्व चयन गर्ने भएपछि अध्यक्षका आकाङ्क्षीबीच प्रतिष्पर्धा हुने देखिएको हो ।

अध्यक्षका लागि सङ्गठनका करिव आधा दर्जन विद्यार्थी नेता आकांक्षी देखिएपछि सर्वसम्मत नेतृत्व चयनका लागि सम्मेलन एक साता पछि समेत सारिएको थियो । तर पनि सर्वसम्मति हुने सम्भावना नदेखिएपछि अध्यक्षको दौडमा रहेका नेताले पार्टीका शीर्ष नेतालाई आफ्नो पक्षमा पार्न कसरत थालेका छन् ।

भावी नेतृत्वको मुख्य दाबेदार मानिएका सुरेन्द्र बस्नेत , पञ्चा सिंह , दीपक देवकोटा र उत्तम अधिकारी एकले अर्कालाई अध्यक्ष छाड्न तयार नभएपछि निर्वाचन हुने सम्भावना वढेर गएको छ ।

झापाका विद्यार्थी नेता बस्नेतलाई माओवादी नेता वर्षामान पुन र अखिल क्रान्तिकारीका अध्यक्ष रञ्जित तामाङको समर्थन रहेको देखिन थालेको छ ।  पुनकै सहयोगमा अध्यक्ष बन्न सफल भएका तामाङले जिल्लावासी भएका कारण बस्नेतलाई सहयोग गर्ने अड्कल काट्न थालिएको छ । बस्नेत पनि पुन निकटकै विद्यार्थी नेता मानिन्छन् ।
 
माओवादी अध्यक्ष प्रचण्डका उत्तराधिकारीका रुपमा हेरिएका नेता पुन र अर्का नेता जनार्दन शर्माको पार्टी भित्र आफ्ना गुट रहेको मानिन थालेका छ । शर्माले पनि आफ्नो गुटबाट अध्यक्षको होडमा रहेका पञ्चा सिंह र दीपक देवकोटा मध्ये एकलाई अध्यक्ष बनाउने गरी तयारी थालेका छन् । शर्माकै कर्णाली प्रदेशका भएकाले पनि शर्माले उनीहरु मध्ये एकलाई अध्यक्षमा अगाडी वढाउन छलफललाई तिव्रता दिएका छन् । देवकोटा विद्यार्थी सङ्गठनमा देखिएका नेतामा इमानदारबौद्धिक मानिन्छन् भने सिंह लडाकु स्वभावकी विद्रोही नेता मानिन्छिन् ।  

माओवादीकै प्रवक्ता समेत रहेका कृष्ण बहादुर महाराले तिलक भण्डारीलाई अध्यक्ष बनाउन कोसिश गरिरहेका छन् । भण्डारीलाई विद्यार्थी नेता रमेश मल्लको साथ रहेको छ ।
सल्यानका भण्डारीलाई कर्णालीवासीको हैसियतमा अन्य नेताले पनि साथ दिएको बताइन्छ

उपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दीपेश पुनले पनि अध्यक्षमा दावी गरिरहेको भएपनि उनी अन्य भन्दा कमजोर देखिएका छन् । आर्थिक लेनदेन र विवादका घटनामा मुछिएका उनलाई सहयोग गर्न पार्टीका शिर्ष नेता तयार नहुँदा उनी सवैभन्दा कमजोर रहेको मानिएको छ ।

पूर्व मसाल समुहबाट पार्टीकै अर्का नेता नारायणकाजी श्रेष्ठले विद्यार्थी नेता विजय गौतमलाई अध्यक्षका रुपमा अघि सारेका छन् । श्रेष्ठ समुहका गौतम अन्य भन्दा कमजोर देखिएका छन् । राम बहादुर थापा समुहले माओवादी परित्याग गरेपछि गौतम श्रेष्ठ समुहमा खुलेको वताईन्छ ।

प्रचण्डले सहमतिमा नै अध्यक्ष छान्न भनेपनि नेताहरुले गुट बनाउन थालेकाले अहिलेसम्म कमजोर मानिएका अनि गुट विहीन देखिएका अधिकारीलाई अघि वढाउन सक्ने पनि अड्कल काटिएको छ । माओवादी विद्रोहबाट आएका अधिकारी र देवकोटा मध्ये एक प्रचण्डको रोजाईमा पर्न सक्ने पनि अनुमान गर्न थालिएको छ ।

माओवादी आन्दोलनबाट आएको पुस्ताको हातमा नेतृत्व पुग्ने यो पटक अन्तिम अवसर भएकाले समेत प्रचण्डले अधिकारी या देवकोटामा एक जनालाई अध्यक्ष बनाउन सक्ने अनुमान गरिएको हो ।