काठमाडौँ / राजधानीमा जारी छैटौँ संस्करणको एनभीए महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपअन्तर्गत पुरुषतर्फ हेल्प नेपाल स्पोर्ट्स क्लबले विजयी हासिल गरेको छ । 

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा आज भएको पहिलो खेलमा हेल्प नेपालले वाग्मती प्रदेशलाई ३–० को सेटमा पराजित गर्दै विजयी हासिल गरेको हो । 

OM Sai Pathibhara Hospital

हेल्प नेपालले पहिलो सेट २५–१६, दोस्रो सेट २५–१३ र तेस्रो तथा अन्तिम सेटमा २५–१२ को जित निकाल्यो । यस जितसँगै समूह ‘ए’ मा रहेको हेल्प नेपालले दुई अङ्क बटुलेको छ । 

यता वाग्मतीको भने यो लगातार दोस्रो हार हो । पहिलो खेलमा वाग्मती गल्कोट स्पोर्ट्स क्लबसँग पराजित भएको थियो । नेपाल भलिबल सङ्घको आयोजना भएको उक्त प्रतियोगितामा पुरुषतर्फ १४ र महिलातर्फ छ टोलीको सहभागिता रहेको छ । 

महिला तथा पुरुष विजेता टोलीले चार लाख रुपैयाँ प्राप्त गर्ने छ भने उपविजेता टोलीले दुई लाख रुपैयाँ पाउने छ । तेस्रो हुने टोलीले एक लाख रुपैयाँ प्राप्त गर्ने छ ।