काठमाडौँ / अन्तर्राष्ट्रिय बक्सर खेलाडी अविरल घिमिरेले ‘के वान सुपर वेल्टरवेट सुपर फाइट’ प्रतियोगितामा भिड्ने भएका छन् ।

यही असोज ३१ आइतबार जापानको नागोया सहरस्थित नागोया कङग्रेस सेन्टर इभेन्ट हलमा आयोजना हुने सो प्रतियोगितामा उनी जापानका व्यवसायिक किक बक्सर फुजीमुरासँग रिङ्मा उत्रदैछन् । 

OM Sai Pathibhara Hospital

फुजीमुरा पनि के वान के बक्सिङ प्रतिस्पर्धामा भिडन्त गरिसकेका अनुभवी खेलाडी हुन् । आज सामाजिक सञ्चालमा के वान क्लबले ‘के वान सुपर वेल्टरवेट सुपर फाइट’ प्रतियोगितामा बक्सरद्वय अविरल र फुजीमुरा बीचमा भिडन्त हुने जनाएको छ ।

 ‘हिमालयन चितुवा उपाधि’ले विश्व प्रसिद्ध अविरलले गत चैतमा जापानको टोकियो सहरमा  सम्पन्न ‘के वान फेस्टिवल २०२१’ प्रतियोगिताको उपाधि चुम्ने कम उमेरका पहिलो नेपाली बक्सर बन्ने सौभाग्य प्राप्त गरेका थिए । उनले जापानी व्यावसायिक बक्सर खोतेचुलाई पहिलो राउण्डमा नै ढालेर नयाँ इतिहास कायम गरेका थिए ।   

यसैगरी अविरलले गत वर्ष नै ‘प्रोफेसनल किक बक्सिङ हिट ४८’ मा  जापानी खेलाडी योसिदा यइजी माथि सहज जित हात पारेका थिए । अन्तर्राष्ट्रिय बक्सिङ खेलाडी एवं प्रशिक्षक देवकुमार घिमिरेका सुपुत्र अविरलले कोरोना कहरमा बीचमा सो प्रतियागिताका लागि  पिताकै विशेष प्रशिक्षणमा तयारी थालेको जनाइएको छ । 

उनले आज सामाजिक सञ्जालमार्फत प्रतियोगिताको आवश्यक तयारी सुरुआत भएको जनाएका छन् । प्रशिक्षक देवले पनि सामाजिक सञ्जालमा भनेका छन्, –“युवा बक्सर अविरलले पछिल्लो समय बक्सिङमा नयाँ उचाइ हासिल गरेका छन् । के वान सुपर वेल्टरवेट सुपर फाइट’ चुम्नेमा म विश्वस्त छु । यो प्रतियोगितमा छनोट हुुनु आफैँमा प्रतिष्ठाको विषय हो ।” 

के वान बक्सिङ प्रतियोगितामा विश्वका चर्चित बक्सरलाई मात्र रिङभित्र उतारिने गरिन्छ । रोमाञ्जकारी भिडन्त हेर्ने  अग्रिम टिकट लिनुपर्छ ।