म्याग्दी / अन्नपूर्ण गाउँपालिकाका पर्यटकीयस्थल यही असोज १५ गतेदेखि भ्रमणका लागि खुलाइने भएका छन् । 

कोरोना महामारी फैलिएपछि गत वैशाखदेखि बन्द भएका पर्यटकीयस्थल करिब छ महिनापछि खुल्न लागेका हुन् ।कार्यपालिकाको बैठकले पर्यटकीयस्थल र तातोपानी कुण्ड स्नानका लागि खुलाउने निर्णय गरेको हो । 

OM Sai Pathibhara Hospital

कार्यपालिकाका प्रवक्ता कृष्णप्रसाद बरुवालले कोरोना सङ्क्रमणको दर घटेको, खोपको व्यवस्था भएको, थलिएको पर्यटन व्यवसाय उठाउन तथा जनजीवनलाई सहज र आर्थिक गतिविधिलाई चलायमान बनाउन पर्यटकस्थल खुलाउने निर्णय लिइएको बताए । 

“पहिलो लहरको कोरोना महामारी भित्रिएपछि बन्द गरिएका पर्यटकीयस्थल र तातोपानी कुण्ड औपचारिकरूपमा १८ महिनापछि खुलाउन लागिएको हो”, उनले भने –“गत माघ, फागुन र चैत महिनामा न्यून सङ्ख्यामा पाहुना आए पनि औपचारिक हिसाबले खुलाइएको थिएन ।”  

अन्नपूर्ण आधार शिविर, भुरुङ, पाउद्धार, रातोपानी र सेकार्कुको कुण्ड, घोडेपानी, पुनहिल, मोहरे, फूलबारी, खोपारा लेक, बयली, रुप्से, अन्धगल्छी, महभिर तथा नारच्याङ झरनालगायत पर्यटकीयस्थलका होटल तथा लज खुलाउने निर्णय गरिएको गाउँपालिकाले जनाएको छ । 

गाउँपालिकाका अध्यक्ष डमबहादुर पुनले पर्यटकीयस्थलका बासिन्दा, होटल व्यवसायी र मजदुरलाई कोरोना भाइरस विरुद्धको खोप लगाउन प्राथमिकता दिइएको बताए । प्रमुख पर्यटकीयस्थल घोडेपानीका १८ वर्षमाथिका १४० जनालाई बुधबार कोरोना विरुद्धको खोप लगाइ सकिएको छ । 

तातोपानी, रातोपानीलगायत पर्यटकीयस्थलका बासिन्दालाई पनि कोरोनाविरुद्धको खोप लगाउन प्राथमिकता दिइने गाउँपालिकाले जनाएको छ । 

अन्नपूर्णका पर्यटकीयस्थल पाहुना र पर्यटकको पर्खाइमा रहेका घोडेपानी टोल सुधार समितिका अध्यक्ष बिरेन गर्बुजाले बताए । करोडौँ लगानी गरेर होटल तथा लज खोलेका व्यवसायी पर्यटक नआउँदा समस्यामा परेका थिए । स्वास्थ्य सुरक्षा सतर्कता अपनाएर पर्यटन क्षेत्रलाई सञ्चालन गरिने होटल व्यवसायीहरुले बताए । 

पर्यटकीयस्थल बन्द हुँदा अन्नपूर्ण गाउँपालिकालाई गत वर्ष रु एक करोडभन्दा बढी आम्दानी गुमेको छ । तातोपानी र पुनहिलमा प्रवेश शुल्क तथा चमेनागृह सञ्चालनका लागि गत वर्ष ठेक्का लगाइएको थिएन ।