कर्णाली / मध्यपश्चिम विश्वविद्यालयले लामो समयदेखिको तालाबन्दीका कारण कार्यसम्पादन प्रभावित भएको भन्दै आन्दोलनरत प्राध्यापक सङ्गठनलाई वार्तामा आउन आग्रह गरेको छ ।

विश्वविद्यालयले मङ्गलबार साँझ विज्ञप्ति जारी गर्दै आन्दोलनरत पक्षलाई आज साँझसम्म वार्तामा आउन आग्रह गरेको हो ।

OM Sai Pathibhara Hospital

विश्वविद्यालयले तालाबन्दीका कारण विद्यार्थी सङ्गठनसँग भएका सहमति कार्यान्वयन गर्न, एघारौँ सभासम्बन्धी तयारी गर्न, बजेट निकासा र खर्चको प्रक्रिया एवं दैनिक प्रशासनिक कार्यसञ्चालन गर्न अवरोध पुगेको जनाएको छ । 

विश्वविद्यालयद्वारा गठित उच्चस्तरीय वार्ता समिति र प्राध्यापक सङ्गठनबीच पटक–पटक वार्ता भए पनि सहमति हुनसकेको थिएन । 

विश्वविद्यालयले निष्काशित गरेका दुई प्राध्यापकलाई पुनःवहालीको माग गरी प्रजातन्त्रवादी प्राध्यापक सङ्घ, नेपाल राष्ट्रिय प्राध्यापक सङ्गठन र आंशिक प्राध्यापक सङ्गठन आन्दोलित छन् ।

विश्वविद्यालयले आज साँझसम्म वार्तामा नआए आफैँ ताला खोल्ने चेतावनी दिएको छ । “लामो समयसम्म तालाबन्दीको अवस्थामा राख्न नसकिने हुँदा लगाइएको ताला खोली विश्वविद्यालय प्रशासन दैनिक कार्यसम्पादन गर्न बाध्य हुने अवगत गराउँछौँ”, रजिष्ट्रार प्रा. डा. नारायणप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।