बिर्तामोड / काठमाडौँ महानगरपालिकाका मेयर विद्या सुन्दर शाक्यले आफ्नो एकल निर्णयबाट सरकारी रकम जथाभावी खर्च गर्ने गरेको पाइएको छ ।
मेयर शाक्यले मनोमानी रुपमा आफू निकट व्यक्ति तथा संस्थाहरूलाई एकल निर्णयमा सरकारी रकम जथाभावी खर्च गरेको पाइएको हो ।
एमाले अध्यक्ष केपी शर्मा ओली निकट मानिने शाक्यले स्वर्गीय मदन भण्डारीको नाममा स्थापित (एनजिओ) मदन भण्डारी फाउन्डेसनलाई निजी भवन बनाउन आवश्यक जग्गा खरिदका लागि करोडौँ रुपैयाँ रकम वितरण गरेको खुलेको हो ।
शाक्यले २०७६ साउन २१ गते मदन भण्डारी फाउन्डेसनलाई अनामनगर क्षेत्रमा ३ आना देखि ४ आना र १० आना ३ पैसा दाम क्षेत्रफलका ३ टुक्रा घडेरी खरिद गर्न चार करोड २५ लाख रुपैयाँ रकम दिएको महालेखा परीक्षकको ५८ औँ प्रतिवेदनमा उल्लेख रहेको छ ।
मेयर शाक्यले २०७६ भदौ १० गते पुनः एकल निर्णयबाट मदन भण्डारी फाउन्डेसनकै लागि ३० लाख रुपैयाँ दिएका थिए । भण्डारीकै नाममा सञ्चालित ‘मदन भण्डारी स्पोर्टस एकेडेमीलाई एमेचर चेस प्रतियोगिताका लागि दश लाख रुपैयाँ अनुदान दिएको महालेखा परिक्षकको ५८ औँ प्रतिवेदनमा उल्लेख छ ।
मेयर शाक्यले युनाइटेड बिल्डर्स एण्ड इन्जिनियरिङ प्रा.ली. प्रतिवादी भएको उम्प्रेषण परमादेश सम्बन्धी मुद्दामा महानगरका तर्फबाट सरकारी तलब खाने वकिल हुँदा हुँदै निजी ल फर्मलाई काम गर्न दिएर सरकारी ढुकुटीको पैसा दुरुपयोग गरेको पाइएको छ ।
नेपाल बार एशोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठलाई शाक्यले २०७६ कार्तिक ५ र १४ गते सो मुद्दाको बहसका लागि एक लाख १३ हजार रुपैयाँ रकम भुक्तानी गरेको पाइएको छ ।
उक्त मुद्दाको बहसमा फर्मलाई बहस गरेबापत महानगरले कति रकम तोकेको भन्ने कागजात समेत नभएको कारण श्रेष्ठले पाएको रकम बेरुजुमा परेको छ ।