इलाम // इलामको बौद्धधाममा ६५ फिट अग्लो बुद्धको प्रतिमा निर्माण भएको छ।
कन्याम, अन्तुलगायत थुप्रै पर्यटकीय गन्तव्य रहेको इलामको सूर्योदय नगरपालिका ३ को बौद्धधाममा ६५ फिट अग्लो बुद्धको प्रतिमा निर्माण भएको हो ।
बुद्धपार्क निर्माणको थालनी मेची पर्यटन प्रवद्र्धन विकास समितिको बजेटबाट आर्थिक वर्ष २०७२/०७३ मा भएको थियो ।
क्रमागत रुपमा सञ्चालन हुँदै आएको आयोजना देश संघीय संरचनामा गएपछि प्रदेश नम्बर १ सरकारमा हस्तान्तरण भएको थियो ।
प्रदेश सरकारले आर्थिक वर्ष २०७५र०७६ बाट बजेट बिनियोजन गर्दै आएको छ ।
सूर्योदय नगरपालिकाले प्रदेशको बजेटमा ३० प्रतिशत थप गरि पार्क निर्माण गर्दै आएको नगर प्रमुख रणबहादुर राईले बताएका छन्।
बुद्ध पार्क निर्माणमा प्रदेश सरकारको दुई आर्थिक वर्षमा २ करोड रुपैयाँ खर्च भएको छ ।
१७ रोपनी क्षेत्रफलमा निर्माण हुँदै गरेको पार्कमा बुद्धको प्रतिमा निर्माण गरी सकिएको र घेराबारा, साधना केन्द्र, सौन्दर्यीकरण गर्ने काम बाँकी रहेको छ ।
आठ करोड रुपैयाँमा निर्माण सम्पन्न गर्ने योजना रहेको बुद्धपार्कमा प्रदेश १ सरकार, मेची पहाडी पर्यटन र सूर्योदय नगरपालिकाको गरी ४ करोड रुपैयाँ खर्च भइसकेको छ ।
सूर्योदय नगरपालिका भारतीय पर्यटकीय सहर दार्जिलिङ आउने पर्यटकको पहिलो गन्तव्य नेपाल भारत सीमा क्षेत्रको पशुपतिनगरबाट दुई किलोमिटरको दूरीमा रहेको बौद्धधाममा अहिले भारतीय पर्यटक पनि आउने गरेका छन् ।