काठमाडौं//काठमाडौं जिल्ला प्रशासन कार्यालयले १ असोजदेखि भौतिक उपस्थितिमा विद्यालय संचालन गर्ने भनेर गरेको  निर्णय फिर्ता लिएको छ ।

निपा भाइरसको जोखिम बढेको, नेपालीहरूको ठूलो चाड दशैँ आउन लागेको भन्दै अभिभावक तथा सरोकारवाला निकायबाट चौतर्फी विरोध भएपछि प्रशासनले निर्णय फिर्ता लिएको हो।

OM Sai Pathibhara Hospital

शैक्षिक संस्थाहरू (विद्यालय)ले भौतिक उपस्थितिमा पठनपाठन गर्न/गराउन नपाउने भन्दै  बिहीबार काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले आदेश जारी गरेका हुन् ।

गर्नै पर्ने भएमा स्थानीय तहहरूले जिल्ला कोभिड- १९ संकट व्यवस्थापन केन्द्रसँग समन्वय गरी विद्यालयहरू संचालन गर्न सक्ने आदेशमा उल्लेख छ ।

‘महानगरपालिका तथा नगरपालिकाले विद्यालय संचालन गर्नुपूर्व आ-आफ्नो पालिकास्तरमा कोभिड- १९ संक्रमणको अवस्था विश्लेषण गर्ने, विद्यालयमा कार्यरत शिक्षक, कर्मचारी, सवारी चालक तथा सहचालक, क्यान्टिन संचालक र संचालन समितिका पदाधिकारीहरू सबैले अनिवार्य रूपमा कोभिड- १९ विरुद्धको खोप लगाउनुपर्ने,आदेशमा भनिएको छ।

त्यसैगरी अभिभावक तथा सरोकारवाला समूहहरूको छलफल र समन्वयमा स्थानीय तहमा विद्यालय संचालनको विवरण तथा ढाँचा तयार गरी सरकारले जारी गरेको स्मार्ट लकडाउनको प्रावधानभित्र रही संचालन गर्न सकिने बताइएको छ।